`

प्रतिबन्ध छल्दै इरानले डेढ वर्षमा २ अर्ब डलरका सैन्य सामग्री भित्र्याएको खुलासा

Nepal One HD १४ कार्तिक २०८३ १५:३२
विश्व
एजेन्सी । अन्तर्राष्ट्रिय प्रतिबन्ध र अमेरिकी नाकाबन्दीबीच इरानले पाँच हजारभन्दा बढी गोप्य सैन्य एजेन्सीमार्फत हतियार तथा सैन्य सामग्री आयात गरिरहेको खुलासा भएको छ। रोयटर्सको विशेष अनुसन्धानअनुसार इरानले पछिल्लो डेढ वर्षमा कम्तीमा २ अर्ब डलर बराबरका सैन्य उपकरण, विस्फोटक पदार्थ र भारी सवारीसाधन आयात गरेको छ।

रोयटर्सले इजरायली-अमेरिकी जोखिम परामर्शदाता संस्था ‘२४० एनालिटिक्स’ सँगको सहकार्यमा गरेको अनुसन्धानले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) र शक्तिशाली व्यावसायिक समूहसँग जोडिएको गोप्य आपूर्ति सञ्जाल पहिचान गरेको हो।

अनुसन्धानअनुसार यी एजेन्सीहरूले विदेशी शेल कम्पनी र मध्यस्थकर्तामार्फत तेल बिक्रीबाट प्राप्त रकम सैन्य सामग्री खरिदमा प्रयोग गर्दै आएका छन्। चीन, रुस र जर्मनीलगायत देशबाट रकेट इन्धन, सैन्य उपकरणका पार्टपुर्जा र भारी सवारीसाधन आयात हुने गरेको पाइएको छ।

रोयटर्सले करिब १९ हजार आयात अभिलेख, ढुवानी कागजात, भूउपग्रह तस्बिर तथा सरकारी विवरण अध्ययन गरी यो सञ्जालको पहिचान गरेको जनाएको छ। अनुसन्धानमा ‘एमओडी ३४६४२८’ नामक एजेन्सीले जनवरी २०२५ देखि जुन २०२६ सम्म २.३ अर्ब डलर बराबरका सैन्य उपकरण आयात गरेको उल्लेख छ।

उक्त एजेन्सीले चीनबाट ८८६ टन रकेट इन्धन उत्पादनमा प्रयोग हुने रसायनसमेत भित्र्याएको थियो। यस्तै, ४३५ वटा इभेको ट्रक, हजारौँ टोयोटा पिकअप, ९३ टन चिनियाँ टाइटेनियम र रुसबाट ७६ लाख डलर बराबरका डिटोनेटर आयात गरिएको अनुसन्धानमा खुलाइएको छ।

पूर्व प्रतिबन्ध अधिकारी मियाद मलेकीले उक्त सञ्जाललाई इरानी सेनाको जीवनरेखा र पूर्ण व्यापारिक प्रणालीका रूपमा व्याख्या गरेका छन्। यद्यपि, चीनको विदेश मन्त्रालयले यसबारे आफू जानकार नरहेको जनाएको छ।

रोयटर्सको अनुसन्धानले अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद इरानले गोप्य व्यापारिक सञ्जालमार्फत सैन्य सामग्रीको आपूर्ति कायम राखेको देखाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *