पारी हिमाल, वारी बारी : कोदो टिप्न व्यस्त किसान
गोरखा । दसैँको रौनक सकिएसँगै गोरखाको सिरानचोक गाउँपालिका-८, धारापानीका किसानलाई कोदो भित्र्याउने चटारो परेको छ। असारको अन्तिमतिर रोपिएको कोदो पाकेर तयार भएपछि गाउँका किसान खेतबारीमा व्यस्त देखिन थालेका छन्।
कोदो टिप्ने, सुकाउने र सुरक्षित भण्डारण गर्ने काम अहिले गाउँघरमा चलिरहेको छ। कोदो भित्र्याएपछि खेतबारीमा तोरी छर्ने तयारीमा समेत किसान जुटेका छन्। वर्षायाममा रोपिने कोदो पहाडी क्षेत्रका किसानको प्रमुख खाद्यबाली हो। परम्परागत खेती प्रणाली र ग्रामीण जनजीवनसँग गहिरो सम्बन्ध रहेको यो बाली पहाडी भेगका धेरै परिवारको खाद्य सुरक्षाको आधारसमेत बनेको छ।
नेपालमा विशेषगरी पहाडी तथा मध्यपहाडी क्षेत्रमा कोदो खेती गरिन्छ। गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा र जुम्लालगायत जिल्लामा यसको खेती हुने गरेको छ। भिरालो जमिन तथा कम सिँचाइ भएका क्षेत्रमा समेत उत्पादन गर्न सकिने भएकाले कोदो पहाडी किसानका लागि उपयोगी बाली मानिन्छ।
कृषि वन तथा पर्यावरण मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा दुई लाख १४ हजार ४७७ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको थियो। उक्त वर्ष दुई लाख ८४ हजार ३५२ मेट्रिक टन कोदो उत्पादन भएको थियो।
कोदो खाद्यान्नका रूपमा मात्र नभई पोषणका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ। यसबाट ढिँडो, रोटी, सातु र पिठोलगायत विभिन्न परिकार बनाइन्छ। यसमा रेसा, खनिज पदार्थ तथा अन्य पोषक तत्त्व पाइने भएकाले पछिल्लो समय सहरबजारमा पनि कोदोजन्य परिकारप्रति आकर्षण बढ्दै गएको छ।
तर, कोदोको महत्त्व हुँदाहुँदै पनि पछिल्ला वर्षमा यसको खेती विस्तार र उत्पादनमा विभिन्न चुनौती देखिएका छन्। ग्रामीण क्षेत्रमा कृषि श्रमिकको अभाव, युवाको कृषि पेसाप्रतिको घट्दो आकर्षण तथा उत्पादनको उचित बजार व्यवस्थापन नहुनु प्रमुख समस्या हुन्। स्वदेशमा कोदोजन्य परिकारको माग बढ्दै जाँदा पनि आयातमा निर्भर हुनुपर्ने अवस्थाले स्थानीय उत्पादन प्रवर्द्धनको आवश्यकता देखाउँछ।
स्थानीय रैथाने बालीका रूपमा रहेको कोदो खेतीको संरक्षण र व्यावसायिक प्रवर्द्धन गर्न सके किसानको आम्दानी बढाउन सकिन्छ। साथै, परम्परागत खाद्य संस्कृति जोगाउन र स्थानीय उत्पादनलाई बजारसँग जोड्नसमेत सहयोग पुग्ने देखिन्छ।














