हुन्डीको जालोमा बैंकदेखि डिजिटल वालेटसम्म!
नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको रणनीतिक विश्लेषण प्रतिवेदनले हुन्डीको यस्तो नयाँ स्वरूप उजागर गरेको हो । प्रतिवेदनअनुसार सन् २०२५ जनवरी २ देखि २०२६ जुलाई १६ सम्म प्राप्त १५ हजार ८१५ शङ्कास्पद कारोबारसम्बन्धी प्रतिवेदनमध्ये १ हजार ६७२ वटा हुन्डीसँग सम्बन्धित छन् । यो कुल प्रतिवेदनको १०.५७ प्रतिशत हो ।
हुन्डीसँग सम्बन्धित शङ्कास्पद कारोबारको विवरण पठाउनेमध्ये ८९.९ प्रतिशत वाणिज्य बैंक छन् । विस्तृत विश्लेषण गरिएका कारोबारमध्ये खुद्रा व्यापार फर्मको हिस्सा ४३ प्रतिशत र विप्रेषण कम्पनीका सबएजेन्टको हिस्सा ४१.५ प्रतिशत छ । यी दुई क्षेत्रको हिस्सा मात्रै ८४.५ प्रतिशत पुग्छ । यसले सामान्य व्यापार र रेमिट्यान्स कारोबारको आवरणमा समेत हुन्डीको जोखिम फैलिएको देखाउँछ ।
बैंक खाता भाडामा लिएर तथा अरूका नाममा रहेका खाता प्रयोग गरेर रकम ओसारपसार भइरहेको आशंका प्रतिवेदनले औँल्याएको छ । विश्लेषण गरिएका शङ्कास्पद कारोबारमध्ये करिब ४० प्रतिशत बैंक खाता खोलेको एक वर्षभित्रै निगरानीमा परेका थिए । विद्यार्थी र गृहिणीका नाममा रहेका खातासमेत शङ्कास्पद कारोबारमा प्रयोग भएको देखिएको छ ।
अझ एउटा घटनामा ५२ वटा बैंक खातामार्फत एक अर्ब तीन करोडदेखि एक अर्ब चार करोड रुपैयाँसम्म परिचालन भएको पाइएको छ । रकमको स्रोत लुकाउन विभिन्न खातामा टुक्र्याएर जम्मा गर्ने र पछि डिजिटल माध्यमबाट स्थानान्तरण गर्ने शैली अपनाइएको प्रतिवेदनमा उल्लेख छ । कनेक्ट आईपीएसजस्ता माध्यमबाट रकम तीव्र गतिमा घुमाउने गरिएको छ ।
भौगोलिक विवरणमा मधेश प्रदेश हुन्डी कारोबारको जोखिममा सबैभन्दा अगाडि देखिएको छ । शङ्कास्पद व्यक्ति तथा संस्थामध्ये ५३ प्रतिशत मधेश प्रदेशका छन् । कोशीको १६ प्रतिशत, लुम्बिनीको १२.५ प्रतिशत र बागमतीको ८.५ प्रतिशत हिस्सा छ । जिल्लागत रूपमा सिरहा १०.५ प्रतिशतसहित पहिलो स्थानमा छ भने सप्तरी १०, सुनसरी नौ, धनुषा आठ र महोत्तरी ७.५ प्रतिशतमा छन् ।
वैदेशिक रोजगारीबाट आउने विप्रेषण, भारतसँगको खुला सीमा र औपचारिक विनिमय दरभन्दा बढी रकम दिने हुन्डी एजेन्टको प्रलोभनलाई यसको प्रमुख कारण मानिएको छ । विदेशमा रकम बुझाउने र नेपालमा परिवारलाई पैसा उपलब्ध गराउने एजेन्टबीच आपसी हिसाब मिलान हुने भएकाले वास्तविक रकम सीमापार पठाउनुपर्ने अवस्था पनि नआउन सक्छ ।
आयात व्यापारमा न्यून बिजकीकरण गरेर भन्सार छल्नसमेत हुन्डी प्रयोग भइरहेको प्रतिवेदनले देखाएको छ । वास्तविक मूल्यभन्दा कमको बिल भन्सारमा पेस गर्ने र बाँकी रकम अनौपचारिक सञ्जालमार्फत भुक्तानी गर्ने प्रवृत्ति पहिचान भएको छ । त्यस्तै, आवरण कम्पनी स्थापना गरेर रकम घुमाउने तथा स्टेबलक्वाइनजस्ता भर्चुअल सम्पत्तिमार्फत अन्तरदेशीय हिसाब मिलाउने जोखिम पनि औँल्याइएको छ ।
ह्वाट्सएपजस्ता डिजिटल माध्यम र नोटका सिरियल नम्बरलाई कारोबारको संकेतका रूपमा प्रयोग गर्ने गरिएको अध्ययनमा उल्लेख छ । प्रविधि आधुनिक भए पनि अन्तिम हिसाब मिलानमा नगद र वस्तुको कारोबार अझै महत्त्वपूर्ण रहेको देखिएको छ । सुनको कारोबारसँग जोडेर विदेशमा संकलित रकम र नेपालमा प्राप्त नगदबीच हिसाब मिलाउने सम्भावित प्रवृत्तिसमेत पहिचान गरिएको छ ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार पछिल्ला पाँच आर्थिक वर्षमा हुन्डीसम्बन्धी १९७ वटा अनुसन्धान सुरु भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा १८ वटा अनुसन्धान भएकामा २०८१/८२ मा यो संख्या बढेर ६० पुगेको छ । यस अवधिमा १९० मुद्दा अदालतमा दायर भएका छन् भने १०३ मुद्दामा अन्तिम फैसला भएको छ ।
ती मुद्दामा तीन अर्ब ८७ करोड रुपैयाँ बिगो दाबी गरिएको थियो । प्रतिवेदनअनुसार तीन अर्ब ८६ करोड रुपैयाँ बरामद, १६ करोड ४४ लाख रुपैयाँ रोक्का र दुई अर्ब ७३ करोड रुपैयाँ जफत भएको छ । एउटा मुद्दामा संलग्न व्यक्तिको औसत संख्या १.९ बाट बढेर ३.५ पुगेको तथ्यले हुन्डी व्यक्तिगत धन्दाभन्दा संगठित सञ्जालमार्फत सञ्चालन भइरहेको जोखिम देखाउँछ ।
नेपालमा ठूलो आकारको नगदमा आधारित अनौपचारिक अर्थतन्त्र र भारतसँगको १ हजार ७५१ किलोमिटर लामो खुला सीमाले पनि यस्तो कारोबारलाई सहज बनाएको प्रतिवेदनको निष्कर्ष छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको ठूलो संख्या, विदेशमा औपचारिक बैंकिङ पहुँचको कमी र वित्तीय साक्षरताको कमजोर अवस्थाले समेत हुन्डीको कारोबारलाई प्रोत्साहन गर्न सक्ने देखिएको छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ ‘क’ ले हुन्डी कारोबारलाई फौजदारी कसुर मानेको छ । यसमा बिगो जफत र एक वर्षसम्म कैदको व्यवस्था छ । विदेशी विनिमयसम्बन्धी कानुनले पनि इजाजतबिना यस्तो कारोबार गर्न निषेध गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले ग्राहकको आम्दानी, पेसा र कारोबारको प्रकृतिसँग मेल नखाने रकमको आवतजावतमा निगरानी गर्नुपर्ने प्रतिवेदनको सुझाव छ ।
सीमावर्ती क्षेत्रका सुनचाँदी व्यवसाय, आयात–निर्यात कम्पनी, मनी चेन्जर, सहकारी र विप्रेषण एजेन्टमाथि समेत लक्षित अनुगमन गर्नुपर्ने औँल्याइएको छ ।
