इरानको चेतावनी : ‘इराक ट्रम्पको हतियार नबनोस्’
काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका सल्लाहकार मोहम्मद मुख्बारले इराकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हातको औजार नबन्न चेतावनी दिएका छन्।
मुख्बारले शनिबार सामाजिक सञ्जाल एक्समार्फत यस्तो चेतावनी दिएका हुन्। अमेरिकी दबाबपछि इराकले इरानसँग जोडिएका अधिकांश सीमा नाका बन्द गरेको समाचार सार्वजनिक भएपछि उनको प्रतिक्रिया आएको हो।
यसअघि करिब तीन साताअघि इराकका विदेशमन्त्री फुआद हुसेनले अलजजिरासँगको अन्तर्वार्तामा अमेरिकी अर्थ मन्त्रालयले बगदादलाई इरानसँगका अधिकांश सीमा नाका बन्द गर्न औपचारिक आग्रह गरेको बताएका थिए। अमेरिकाले दुईवटा नाका मात्र खुला राख्न भनेको उनको भनाइ थियो।
हुसेनका अनुसार इरान र इराकबीच वार्षिक १५ देखि १८ अर्ब अमेरिकी डलर बराबरको व्यापार हुँदै आएको छ। सीमा नाका बन्द गर्दा इराकको अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने उनले चेतावनी दिएका थिए।
अमेरिकाले यसअघि इरानी बन्दरगाहमाथि समुद्री नाकाबन्दी पुनः लागू गरेको थियो। यसै महिना इरानको स्थल सीमा र क्यास्पियन सागर हुँदै हुने हतियार तथा तस्करीको आवागमन नियन्त्रण गर्ने उद्देश्यले विशेष कार्यदल गठन गर्ने घोषणा पनि गरेको छ।
समुद्री नाकाबन्दीका कारण छिमेकी मुलुकसँग जोडिएका स्थलमार्ग इरानका लागि व्यापार र आपूर्ति सञ्चालन गर्ने महत्त्वपूर्ण माध्यम बनेका छन्।
यस्तो अवस्थामा इराकका सीमा नाका बन्द गर्ने अमेरिकी दबाबले तेहरान र बगदादबीचको आर्थिक सम्बन्धमा थप तनाव उत्पन्न हुन सक्ने देखिएको छ।
