अस्ट्रेलियामा एनएएको स्वर्णजयन्तीमा अग्रजहरू सम्मानित
प्रिमियर क्रिस मिन्स, एनएएकी अध्यक्ष निशा राजभण्डारी, नेपालका वरिष्ठ कलाकार हरिवंश आचार्य, मनोज गजुरेल, डा. भगवान कोइराला र गायिका शान्तिश्री परियारलगायतका व्यक्तित्वहरूबाट सम्मानित व्यक्तिहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो ।
समारोहमा इन्द्र बानद्वारा लिखित ‘अस्ट्रेलियामा आधा शताब्दी’ पुस्तक तथा अस्ट्रेलियामा नेपालीहरूको बसोबास र ऐतिहासिक यात्रालाई समेटिएको स्मारिका विमोचन गरिएको थियो । प्रिमियर मिन्स, लेखक बान, स्मारिका प्रकाशन समितिका अध्यक्ष ऋषि आचार्य, सहअध्यक्ष डा. राजु मानन्धर र एनएएकी अध्यक्ष राजभण्डारीलगायतको संयुक्त उपस्थितिमा पुस्तक तथा स्मारिका सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा नेपाली मूलका स्थापित कलाकार तथा दोस्रो पुस्ताका युवा प्रतिभाहरूद्वारा नेपाली गीत, संगीत र सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । सांस्कृतिक प्रस्तुतिमार्फत अस्ट्रेलियामा नेपाली कला, संस्कृति र मौलिक पहिचानको प्रवर्धनमा जोड दिइएको थियो ।
एनएएकी अध्यक्ष निशा राजभण्डारीद्वारा अस्ट्रेलियामा बहुसांस्कृतिक समुदायबीच सद्भाव, सहकार्य तथा अन्तरसांस्कृतिक सम्बन्ध विस्तार गर्नु संस्थाको मुख्य लक्ष्य रहेको बताइएको थियो ।
अस्ट्रेलियामा हुर्किरहेका दोस्रो पुस्ताका नेपाली बालबालिका तथा युवालाई नेपाली भाषा, संस्कृति र पुर्खाको पहिचानसँग जोड्ने अभियानलाई भावी पुस्ताका लागि महत्वपूर्ण सामूहिक लगानीका रूपमा लिइएको उनले उल्लेख गरेका छन् ।
एनएको ५०औँ वार्षिकोत्सवमार्फत अस्ट्रेलियामा नेपाली समुदायको पाँच दशक लामो सामाजिक, सांस्कृतिक तथा संस्थागत यात्रालाई पुनः स्मरण गरिएको थियो ।
स्वर्णजयन्ती समारोहबाट संस्थापक पुस्ताको योगदानप्रति सम्मान व्यक्त गर्नुका साथै नयाँ पुस्तामा नेपाली भाषा, संस्कृति र पहिचान हस्तान्तरण गर्ने प्रतिबद्धतासमेत उजागर गरिएको थियो ।
