`

जेन्सनलाई सीईओमा फर्काउन डीपीए प्रयोग गर्नेबारे पेन्टागनमा छलफल

Nepal One HD ११ मंसिर २०८३ १६:०४
विश्व

काठमाडाैं। अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुवाङलाई पुनः पदमा फर्काउन पेन्टागनका उच्च अधिकारीहरूले शीतयुद्धकालीन कानुन प्रयोग गर्ने विकल्पबारे छलफल गरेको खुलासा भएको छ ।

द वासिङ्टन पोस्टको नोभेम्बर २५ को समाचारअनुसार, अमेरिकी रक्षामन्त्री पिट हेगसेथ र उनका सहायक स्टिभ फिनबर्गसहितका अधिकारीहरूले हुवाङलाई पुनः सीईओ बनाउन एनभिडियाको सञ्चालक समितिमाथि दबाब दिन रक्षा उत्पादन ऐन (डीपीए) प्रयोग गर्न सकिने विषयमा छलफल गरेका थिए ।

छलफलसँग परिचित तीन व्यक्तिलाई उद्धृत गर्दै प्रकाशित समाचारमा एनभिडियाको उत्पादनलाई सैन्य आवश्यकतातर्फ केन्द्रित गराउन उक्त कानुन प्रयोग गर्न सकिने विकल्पसमेत विचार गरिएको उल्लेख छ ।

तर, पेन्टागनले यस्तो छलफल भएको दाबी अस्वीकार गरेको छ । युद्ध विभागका एक अधिकारीले मन्त्री, उपमन्त्री वा सहायक मन्त्रीले त्यस्तो प्रस्ताव नगरेको बताएका छन् । ह्वाइट हाउस र एनभिडियाले भने यसबारे प्रतिक्रिया दिएका छैनन् ।

त्यस्तै, हुवाङले नोभेम्बर १२ मा सीईओ पदबाट राजीनामा दिएका थिए । त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई पुनः नेतृत्वमा ल्याउन पहल गरेका थिए । ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई समेत यस प्रक्रियामा मध्यस्थता गर्न आग्रह गरेका थिए ।

अन्ततः नोभेम्बर २३ मा एनभिडियाको सञ्चालक समितिले सर्वसम्मत निर्णय गर्दै हुवाङलाई पुनः अध्यक्ष तथा सीईओमा नियुक्त गरेको थियो । ट्रम्पले पनि उनको पुनर्नियुक्तिमा आफूले भूमिका खेलेको स्वीकार गरेका छन् ।

चीनसँगको एआई प्रतिस्पर्धामा एनभिडियाको प्रविधि अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण रहेको ट्रम्प प्रशासनका अधिकारीहरूको तर्क थियो । यही कारण कम्पनीको उत्पादन प्राथमिकता सैन्य आवश्यकताअनुसार निर्धारण गर्न डीपीए प्रयोग गर्ने विकल्पबारे छलफल भएको समाचारमा उल्लेख छ ।

सन् १९५० मा जारी गरिएको डीपीएले राष्ट्रिय रक्षा तथा आपत्कालीन अवस्थामा आवश्यक वस्तुको उत्पादनलाई प्राथमिकता दिन अमेरिकी राष्ट्रपतिलाई अधिकार प्रदान गर्छ । तर, यस कानुनले निजी कम्पनीको सीईओ नियुक्त वा पुनर्नियुक्त गर्ने प्रत्यक्ष अधिकार दिँदैन ।

साथै, यस घटनाले अमेरिकी सरकारले राष्ट्रिय सुरक्षा र चीनसँगको प्रविधि प्रतिस्पर्धाका नाममा निजी प्रविधि कम्पनीमाथि कस्तो प्रभाव पार्न सक्छ भन्ने प्रश्न उठाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *