राष्ट्रिय खेलकुदको उद्घाटन गर्न बालेन सुर्खेत जाँदै
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आइतबार सुर्खेत पुग्दैछन्। सुर्खेतमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन गर्न प्रधानमन्त्री शाह कर्णाली जान लागेका हुन्।
वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा आइतबार प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। तर उद्घाटनबाहेक प्रधानमन्त्रीको सुर्खेत बसाइमा अन्य औपचारिक कार्यक्रम भने सार्वजनिक गरिएको छैन।
प्रतियोगिताका केही खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन्। औपचारिक उद्घाटन मंसिर १६ गते र समापन मंसिर २७ गते गर्ने कार्यतालिका छ।
प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ गरी ११ टोली सहभागी छन्। ३२ खेलका ३८४ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।
कुल ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी एक हजार ३३७ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ।
