पुरुष फुटबलमा कोशीको ४-१ को जित, लुम्बिनी लगातार दोस्रो हारमा
काठमाडाैं। दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई ४-१ गोल अन्तरले पराजित गरेको छ। शुक्रबार बिहान सम्पन्न प्रतियोगिताको सातौँ खेलमा जित निकाल्दै कोशीले प्रतियोगितामा आफ्नो अंक चार पुर्याएको छ।
कोशीको जितमा मिलन राईले दुई गोल गरे। उनले खेलको १२औँ र ३२औँ मिनेटमा गोल गरेका थिए। त्यस्तै, अमित सन सतारले १४औँ र सौरभ लिम्बुले ६४औँ मिनेटमा गोल थपे।
लुम्बिनीका लागि फागुराम चौधरीले खेलको ५९औँ मिनेटमा एक गोल फर्काए। तर, उनको गोलले टोलीलाई हारबाट जोगाउन सकेन।
त्यस्तै, खेलमा रातो कार्ड पाएका कोशीका प्रकाश भुजेल र दोहोरो पहेँलो कार्ड पाएका लुम्बिनीका फागुराम चौधरीले आगामी एक खेल गुमाउने भएका छन्।
कोशीका भुजेलले खेलको ५८औँ मिनेटमा रातो कार्ड पाएपछि मैदान छाडेका थिए। त्यसपछि कोशीले बाँकी समय १० खेलाडीमा सीमित रहेर खेलेको थियो। रातो कार्डका कारण भुजेललाई आगामी एक खेलमा प्रतिबन्ध लगाइएको छ।
यस्तै, लुम्बिनीका फागुरामले यस खेलमा पहेँलो कार्ड पाए। यसअघि पहिलो खेलमा पनि पहेँलो कार्ड पाएका उनको कार्ड संख्या दुई पुगेपछि उनी पनि आगामी एक खेलका लागि प्रतिबन्धित भएका छन्।
म्याच कमिसनर वीरेन्द्र पाण्डेका अनुसार दुवै खेलाडीले आगामी एक खेल गुमाउनेछन्।
यस जितसँगै कोशीले प्रतियोगितामा चार अंक जोडेको छ। पहिलो खेलमा बागमती प्रदेशसँग बराबरी खेलेको कोशीले लुम्बिनीलाई पराजित गर्दै तीन अंक थपेको हो।
यता, पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको लुम्बिनीले दोस्रो खेलमा पनि हार बेहोरेको छ। लगातार दुई खेलमा पराजित भएपछि लुम्बिनी अंकविहीन छ।
साथै, प्रतियोगिताअन्तर्गत शुक्रबार दिउँसो २ः३० बजे बागमती प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।
