अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार
काठमाडाैँ। अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार गरेको छ। प्रान्तीय प्रहरी प्रवक्ता मावलवी गुल मोहम्मद कुद्रतले बिहीबार दिएको जानकारीअनुसार ती व्यक्तिलाई बुधबार उद्धार गरिएको हो।
संदिग्ध तस्करहरूले ती व्यक्तिलाई निमरोज हुँदै अवैध रूपमा अफगानिस्तानबाहिर लैजान खोजेको प्रहरीले जनाएको छ । उनीहरूलाई ओसारपसार गर्न प्रयोग गरिएका पाँचवटा सवारीसाधनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले थप विवरण सार्वजनिक नगरे पनि कसैलाई अवैध रूपमा सीमा पार गर्न नदिने र मानव तस्करीमा संलग्न व्यक्तिविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ।
यसअघि गत साता पनि प्रहरीले निमरोज प्रान्तमा ८९ जनालाई अवैध रूपमा विदेश लैजाने प्रयास विफल पारेको थियो। उक्त घटनामा प्रहरीले मानव तस्करीमा संलग्न भएको आशङ्कामा तीन जनालाई पक्राउ गरेको थियो ।
युद्धबाट प्रभावित अफगानिस्तानमा गरिबी र बेरोजगारी व्याप्त रहेकाले धेरै नागरिक रोजगारीको खोजीमा अवैध बाटोबाट विदेश जाने क्रम जारी छ। यही अवस्थाको फाइदा उठाउँदै मानव तस्करहरूले मानिसलाई गैरकानूनी रूपमा देशबाहिर लैजाने प्रयास गर्दै आएका छन्।
