दोधारा-चाँदनीमा लिफ्ट सिँचाइबाट दुई सय हेक्टरमा सिँचाइ सुविधा
कञ्चनपुर। कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-७ स्थित कञ्जभोजमा लिफ्ट सिँचाइबाट दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुने भएपछि यहाँका किसान हर्षित भएका छन्।
जोगबुढा नदीको पानी सौर्य लिफ्ट सिँचाइ मार्फत किसानको खेतमा पुगेपछि खेती गर्न सहज भएको स्थानीय देवीसरा सुनारले बताए। “यहाँ सिँचाइको आवश्यकता थियो, यसले यहाँका किसानलाई धेरै लाभ हुन्छ”, उनले भने, “अब तरकारी खेती गर्न पनि सहज हुन्छ ।”
विगतमा यहाँका किसानले सिँचाइ समस्या झेल्दै आएको उनले बताए। महाकाली नदीबाट सिँचाइ सुविधा पुर्याउन सम्भव नभएपछि महाकाली सिँचाइ तेस्रो चरण आयोजनाले यहाँ सौर्य लिफ्ट सिँचाइ मार्फत खेतमा पानी उपलब्ध गराएको हो।
“यहाँ किसानको सङ्ख्या धेरै छ, सिँचाइ सुविधाले हामीलाई खेतीपाती गर्न सहज भएको छ”, स्थानीय ललितसिंह ठकुरीले भने।
महाकाली सिँचाइ तेस्रो चरण आयोजना कार्यालयले रु आठ करोड ९ लाखको लागतमा दोधारा-चाँदनीमा लिफ्ट सिँचाइ योजना निमार्ण गरेको हो । उक्त लिफ्ट सिँचाइबाट दोधारा-चाँदनीको दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध भएको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका प्रमुख गणेश मरासिनीले जानकारी दिए। उनका अनुसार दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने गरी सौर्य लिफ्ट सिँचाइका लागि २०७९ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो।
छपन्न दशमलव ८५ वर्गकिलोमिटर क्षेत्रफल रहेको दोधारा–चाँदनीमा तीन हजार ६ सय हेक्टरमा खेती हुँदै आएको छ । खेतीका लागि उपयुक्त माटो रहेको यस क्षेत्रमा सिँचाइ सुविधा नहुँदा यहाँका किसान समस्यामा पर्दै आएका छन्।
यहाँ सिँचाइ सुविधा नहुँदा किसान पानी तान्ने मोटर प्रयोग गरेर प्रति घण्टा रु दुई सय तिरेर सिँचाइ गर्दै आएका थिए। महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाले महाकाली सिँचाइ मुल नहर निमार्ण बाहेक लिफ्ट सिँचाइ र वोरिङबाट समेत किसानका लागि सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ।
महाकाली सन्धि अनुसार भारतले नेपाललाई दोधारा-चाँदनीमा सिँचाइका लागि ३५० क्युसेक पानी नहरमार्फत उपलब्ध गराउनुपर्ने छ । यसका लागि भारतले शारदा नहरबाट नेपाल सीमासम्म एक हजार एक सय मिटर नहर निर्माण गर्नुपर्ने भए पनि हालसम्म भारतीय पक्षले नहर निमार्ण गर्ने टुङ्गो लागेको छैन। नेपालले दोधारा-चाँदनीमा नहर निर्माणका लागि डिपीआर तयार गरेको छ।
दोधारा-चाँदनीमा सिँचाइ सुविधाका लागि भारतले महाकाली सन्धि अनुसार शारदा बैराज (नहर)बाट ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने छ । “दोधारा-चाँदनीमा नहर निमार्णका लागि डीपीआर बनेको छ, स्वीकृत भएको छ”, प्रमख मरासीनीले भने, “नहरबाट पानी उपलब्ध हुन नसकेकोे ठाउँमा लिफ्ट सिँचाइ र वोरिङबाट समेत किसानका लागि सिँचाइ उपलब्ध गराएका छौँ।”
आर्थिक वर्ष २०६३/६४ देखी सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाले २०८७ सालसम्म कैलालीको मालाखेतीसम्म मुल नहरसहित एक सय ५१ किलोमिटर नहर निमार्ण गर्ने लक्ष्य छ । यसबाट कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने बताइएको छ।
