`

अमेरिका र जापानले जापानमै क्षेप्यास्त्र उत्पादन गर्ने

Nepal One HD १३ कार्तिक २०८३ १२:५६
विश्व
काठमाडौं । एसियामा बढ्दो सुरक्षा चुनौतीबीच अमेरिका र जापानले हावाबाट हावामा प्रहार गर्ने उन्नत क्षेप्यास्त्र जापानमै संयुक्त रूपमा उत्पादन गर्ने भएका छन्। यसका लागि जापानमा उत्पादन केन्द्र स्थापना गर्ने सहमति भएको छ। यस सहकार्यले दुवै देशको प्रतिरक्षा क्षमता बढाउनुका साथै आपसी सैन्य सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले बुधबार अमेरिकी रक्षामन्त्री पीट हेग्सेथसँगको भेटपछि यस्तो जानकारी दिएका हुन्। उनका अनुसार ‘अपरेसन सुपरचार्ज’ अन्तर्गत उत्पादन गरिने क्षेप्यास्त्र एफ-३५ लडाकू विमानमा प्रयोग गरिनेछ। यद्यपि, उत्पादन केन्द्र र सम्झौतासम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

कोइजुमीले क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै गएकाले अमेरिका र जापानबीचको गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए। दुवै देशले सम्भावित सुरक्षा चुनौतीको सामना गर्ने क्षमता बढाउनुका साथै अन्तर्राष्ट्रिय कानुनमा आधारित स्वतन्त्र र खुला क्षेत्रीय व्यवस्था कायम राख्नुपर्नेमा जोड दिएका छन्।

अमेरिकी रक्षामन्त्री हेग्सेथले पनि एसियामा शान्ति र स्थिरता कायम राख्न ट्रम्प प्रशासन प्रतिबद्ध रहेको बताएका छन्। दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) का रक्षामन्त्रीहरूसँगको बैठकमा उनले अमेरिकाले आफ्ना सहयोगी तथा साझेदार राष्ट्रहरूको सुरक्षा र हितको रक्षा गर्ने बताएका हुन्।

यसैबीच, अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले अमेरिका र अन्य सहयोगी राष्ट्रसँग मिलेर दक्षिण चीन सागरमा अन्तर्राष्ट्रिय कानुन तथा समुद्री आवागमनको स्वतन्त्रता कायम राख्न प्रयास जारी राख्ने बताएका छन्। गत वर्ष चिनियाँ जे-१६ लडाकू विमान अस्ट्रेलियाको पी-८ पोसाइडन निगरानी विमाननजिक आएर फ्लेयर छोडेको घटनापछि अस्ट्रेलियाले सुरक्षा चासो व्यक्त गरेको थियो।

दक्षिण चीन सागरमा चीनसहित फिलिपिन्स, भियतनाम, मलेसिया, ब्रुनाई र ताइवानले विभिन्न क्षेत्रमा आफ्नो दाबी गर्दै आएका छन्। यस क्षेत्रमा चीन र फिलिपिन्सका तटरक्षक तथा नौसेनाका जहाजबीच पटक-पटक तनाव उत्पन्न हुने गरेको छ। अमेरिकाले फिलिपिन्सका सैनिक, जहाज वा विमानमाथि सशस्त्र आक्रमण भएमा सन्धिगत प्रतिबद्धताअनुसार सहयोग गर्ने बताउँदै आएको छ।

यता, जापान र चीनबीच पनि पूर्वी चीन सागरका केही टापुलाई लिएर विवाद छ। दुवै देशले ती टापु तथा आसपासका समुद्री क्षेत्रमा आफ्नो अधिकार दाबी गर्दै आएका छन्। यस्तो अवस्थामा अमेरिका र जापानले क्षेप्यास्त्र उत्पादनमा सहकार्य गर्ने निर्णयलाई क्षेत्रीय सुरक्षा चुनौतीको सामना गर्न आफ्नो प्रतिरक्षा क्षमता विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *