`

आईजीपी कार्की बालेनको निशानामा, रवि किन बने बाधक?

रामचन्द्र जोशी १३ कार्तिक २०८३ ११:५३
बिशेष

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने विषय प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीचको असमझदारीको नयाँ कारण बनेको छ।

प्रधानमन्त्री शाह कार्कीलाई बिदा गर्ने पक्षमा रहेको चर्चा भइरहँदा लामिछाने भने उनलाई तत्काल हटाउन नहुने पक्षमा रहेको बताइन्छ।

मन्त्रिपरिषद् बैठक स्थगित गरेर प्रधानमन्त्री शाह लामिछानेसँग संवाद गर्न बूढानीलकण्ठ पुगेपछि यो विषय थप चर्चामा आएको हो। उनीहरूबीच झन्डै चार घण्टा छलफल भयो। त्यही समयमा कार्कीलाई हटाउने प्रयासको प्रसंग बाहिरिएपछि राजनीतिक वृत्तमा अनेक अड्कलबाजी सुरु भए।

कार्कीप्रति प्रधानमन्त्री शाहनिकट पक्ष असन्तुष्ट रहनुका पछाडि तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालसँगको सम्बन्ध र पूर्वमहानिरीक्षक चन्द्रकुवेर खापुङलाई पक्राउ गर्ने विषयमा कार्कीले अपेक्षित सहयोग नगरेको बुझाइ प्रमुख कारणका रूपमा चर्चा गरिएको छ।

जेनजी आन्दोलनपछि तत्कालीन प्रहरी नेतृत्वमाथि कारबाही हुनुपर्ने पक्षमा रहेका शाहनिकट व्यक्तिहरू कार्कीबाट सहयोग नपाएको ठान्छन्। केही अन्य पक्राउ प्रकरणमा पनि कार्कीले साथ नदिएको उनीहरूको आरोप रहेको बताइन्छ।

तर, लामिछानेनिकट पक्ष भने कार्कीलाई हटाउने विषयमा सकारात्मक नरहेको चर्चा छ। यही कारण प्रधानमन्त्री शाहले प्रहरी नेतृत्व परिवर्तनको निर्णयअघि पार्टी सभापतिको सहमति खोजिरहेको अनुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *