`

चितवनमा लाइसेन्स परीक्षा ठप्प, दुई हजार सेवाग्राही अलपत्र!

Nepal One HD १३ कार्तिक २०८३ ११:४४
अर्थ समाचार

चितवन । सवारी चालक अनुमतिपत्र लिन चितवन पुग्ने सेवाग्राही यतिबेला समस्यामा परेका छन्। सर्वोच्च अदालतको आदेशपछि गत १० साउनदेखि लिखित तथा प्रयोगात्मक परीक्षा बन्द हुँदा चितवनसहित आसपासका जिल्लाका सेवाग्राही प्रभावित भएका हुन्।

परीक्षा सञ्चालन नहुँदा पुनः प्रयोगात्मक परीक्षा (रि–ट्रायल) दिनुपर्ने करिब ८०० जनाको प्रक्रिया रोकिएको छ। नियमित परीक्षा र रि–ट्रायलका लागि साप्ताहिक रूपमा आउने करिब दुई हजार सेवाग्राहीले समेत सास्ती खेप्नुपरेको यातायात व्यवस्था कार्यालय भरतपुरले जनाएको छ।

कार्यालयका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार निजी ट्रायल सेन्टरमा हुँदै आएको परीक्षा अदालतको आदेशपछि रोकिएको हो। उक्त सेन्टरको ठेक्का रद्द गरेर पुनः ठेक्का प्रक्रिया अघि बढाउन अदालतले आदेश दिएपछि लिखित र सीप परीक्षा सञ्चालन हुन नसकेको उनले बताए।

तर, नयाँ ठेक्का प्रक्रिया सुरु गर्न मन्त्रालयबाट निर्देशन वा परिपत्र नआएकाले बोलपत्र आह्वान गर्न नसकिएको पौडेलको भनाइ छ।

‘मन्त्रालयबाट कुनै परिपत्र नआएका कारण सवारी चालक अनुमतिपत्रको काम गर्न सकिएको छैन,’ उनले भने।

परीक्षा बन्द भए पनि कार्यालयले सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित अन्य सेवा, सवारी धनी प्रमाणपत्र र रुट परमिटलगायतका काम भने गरिरहेको छ। तर, लिखित र प्रयोगात्मक परीक्षा रोकिँदा नयाँ लाइसेन्स लिन चाहने तथा पुनः परीक्षा दिनुपर्ने सेवाग्राहीको काम अघि बढ्न सकेको छैन।

ट्रायल सेन्टर सञ्चालनमा हुँदा एकपटकमा करिब ४०० जना नयाँ तथा पुराना सेवाग्राहीले लिखित र सीप परीक्षा दिने गरेका थिए। अहिले परीक्षा ठप्प हुँदा सेवाग्राहीले कहिलेदेखि सेवा नियमित हुन्छ भन्ने अन्योलसमेत झेल्नुपरेको छ।

अदालतको आदेश कार्यान्वयन गर्दै नयाँ ठेक्का प्रक्रिया अघि बढाउन सम्बन्धित निकायले आवश्यक निर्णय नगर्दासम्म चितवनमा सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुने अवस्था अनिश्चित बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *