`

मन्त्री फेर्ने रविको तयारीमा बालेनको बाधा!

शुभेच्छा खड्का १३ कार्तिक २०८३ ११:३६
बिशेष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र सरकार सञ्चालन र मन्त्री चयनको अधिकारलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सभापति रवि लामिछानेबीच असमझदारी बढ्दै गएको चर्चा छ।

मन्त्री हेरफेरदेखि पार्टीका आन्तरिक पदमा नियुक्तिसम्म दुवै पक्षबीच सहमति जुट्न नसकेको रास्वपा स्रोतहरूको दाबी छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई हटाएर दीपक साहलाई जिम्मेवारी दिने विषयमा प्रधानमन्त्री शाहले लामिछानेसँग पर्याप्त छलफल नगरेको उनीनिकट पक्षको भनाइ छ।

यादवलाई हटाएपछि लामिछाने गणेश पराजुलीलाई उद्योगमन्त्री बनाउन चाहन्थे। पार्टी महाधिवेशनका क्रममा पराजुलीलाई दिएको वचन पूरा गर्न लामिछाने इच्छुक रहेको स्रोतको दाबी छ। तर, प्रधानमन्त्री शाहको निर्णयपछि लामिछानेको चाहना पूरा हुन नसकेको बताइन्छ।

लामिछानेले महाधिवेशनपछि नै केही मन्त्री परिवर्तन गर्न खोजेका थिए। चार जना मन्त्री हेरफेर गर्ने तयारीसमेत भएको चर्चा छ। तर, प्रधानमन्त्री शाहनिकट पक्ष सहमत नभएपछि उक्त प्रक्रिया अघि बढ्न नसकेको स्रोतको भनाइ छ।

मन्त्री नियुक्तिको विषयसँगै पार्टीका महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य मनोनयनमा पनि सहमति जुट्न नसकेको बताइन्छ। पार्टी नेतृत्व र सरकार सञ्चालन गर्ने पक्षबीचको यही असमझदारीले संगठनात्मक निर्णयलाई समेत प्रभावित पारेको विश्लेषण हुन थालेको छ।

रास्वपा स्रोतका अनुसार लामिछाने अझै पनि मन्त्रिपरिषद् पुनर्गठनको पक्षमा छन्। आगामी साताहरूमा उनले मन्त्री हेरफेरका लागि दबाब बढाउन सक्ने आशंका गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *