`

बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, १ करोड ५६ लाखको क्षति

Nepal One HD ६ कार्तिक २०८३ १३:०५
प्रमुख खबर
काठमाडौं । बाँकेको जानकी गाउँपालिका-५, बकसपुरस्थित अम्बे स्टिल उद्योगमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। उद्योग परिसरमा रहेको फर्नेस आयल भण्डारण ट्यांकीमा आगलागी हुँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब १ः३० बजे विद्युत् सर्ट भएर ट्यांकीमा आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ। फलाम पगाल्ने प्रक्रियामा प्रयोग हुने फर्नेस आयल राखिएको उक्त ट्यांकीको क्षमता दुई लाख लिटर रहेको बताइएको छ।

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी, स्थानीयवासी र दमकलको संयुक्त प्रयासमा करिब एक घण्टामै आगो नियन्त्रणमा लिइएको थियो। बिहान २ः३० बजेतिर आगो पूर्ण रूपमा निभाइएको प्रहरीले जानकारी दिएको छ।

समयमै आगो नियन्त्रणमा लिन सकिएकाले उद्योगका अन्य संरचनामा थप क्षति हुनबाट जोगिएको छ। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

आगलागीबाट प्रारम्भिक अनुमानअनुसार १ करोड ५६ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। यद्यपि, क्षतिको यकिन विवरण तथा आगलागीको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *