`

पत्रकारलाई गोप्य सैन्य सूचना चुहाएको आरोपमा अमेरिकी उच्च सैनिक अधिकारी बर्खास्त

Nepal One HD १४ कार्तिक २०८३ १२:५१
विश्व
काठमाडौं । अमेरिकी उच्च सैनिक अधिकारी लेफ्टिनेन्ट जनरल ब्रेट सिल्भियाले युक्रेन र इरानसम्बन्धी गोप्य सैन्य सूचना पत्रकारहरूलाई दिएको स्वीकार गरेका छन्।

पेन्टागनको अनुसन्धान प्रतिवेदनअनुसार उनले करिब एक वर्षसम्म दुई सञ्चारमाध्यमका पत्रकारलाई गोप्य सूचना उपलब्ध गराएका थिए। यही आरोपमा रक्षामन्त्री पिट हेगसेथले उनलाई यसै साता पदबाट हटाएका थिए।

सिल्भिया अमेरिकी सेनाको संयुक्त सैन्य प्रमुखको कार्यालयमा रणनीति, योजना तथा नीतिसम्बन्धी विभागका प्रमुख थिए। उनले सन् २०२५ जुनदेखि नै पत्रकारहरूलाई सूचना दिन थालेको अनुसन्धानमा उल्लेख छ।

उनले पत्रकारहरूसँग गोप्य सन्देश आदानप्रदान गर्ने एप सिग्नलमार्फत कुराकानी गर्थे। एकपटक भर्जिनियाको आर्लिङ्टनस्थित सिल्भर डाइनरमा पत्रकारसँग प्रत्यक्ष भेटेर युक्रेनलाई अमेरिकाले उपलब्ध गराएको सहयोगबारे जानकारीसमेत दिएका थिए। उनले गोप्य प्रतिवेदन अध्ययन गर्दा तयार पारेका टिपोटका आधारमा मौखिक रूपमा सूचना दिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, उनले इरानसम्बन्धी संवेदनशील सूचना पनि चुहाएको आरोप छ। पत्रकारसँग सिग्नलमा भएको कुराकानी मेटाएको उनले स्वीकार गरेका छन्। तर, अमेरिकी अधिकारीहरूले उनले जानाजान सन्देश र फोनकलको विवरण हटाएको हुन सक्ने आशंका गरेका छन्।

अनुसन्धानका क्रममा सिल्भियाको चारपटक पोलिग्राफ परीक्षण गरिएको थियो। अमेरिकी अधिकारीहरूका अनुसार उनी सबै परीक्षणमा असफल भएका थिए। उनले अनुसन्धानमा सहयोग गर्दै पत्रकारसँगको सम्पर्कबारे जानकारी दिनुका साथै व्यक्तिगत फोनसमेत उपलब्ध गराएका थिए।

पेन्टागनले घटनालाई थप कानुनी कारबाहीका लागि न्याय मन्त्रालयमा पठाएको छ। तर, उनीमाथि सैनिक अदालतको सट्टा नागरिक अदालतमा मुद्दा चलाउने तयारीबारे स्पष्ट पारिएको छैन।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *