जनकपुरबाट अयोध्यासम्म रेल कुदाउने तयारी, मोदी-बालेनले उद्घाटन गर्ने तयारी
काठमाडौं । सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई रेलमार्गबाट जोड्ने तयारी अन्तिम चरणमा पुगेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणकै अवसर पारेर नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको छ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार उद्घाटनको औपचारिक मिति भने टुंगिएको छैन। तर प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा सेवा सञ्चालनको घोषणा र उद्घाटन गर्ने लक्ष्यसहित दुवै देशका अधिकारीहरू तयारीमा जुटेका छन्। प्रधानमन्त्री शाह मंसिर ६ गतेदेखि भारत भ्रमणमा जाने तयारीमा छन्।
रामायण सर्किटअन्तर्गत जनकपुरधामबाट अयोध्यासम्म रेल चलाउने योजनालाई मूर्तरूप दिन नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा निकायबीच चरणबद्ध छलफल भइरहेको छ। यात्रु र रेलको सुरक्षाका विषयमा पनि दुवै देशबीच सैद्धान्तिक सहमति जुटेको छ। नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारतीय भूमिमा भारतीय सुरक्षा निकायले सुरक्षा जिम्मेवारी लिने समझदारी बनेको कम्पनीका प्रबन्ध सञ्चालक पराजुलीले बताएका छन्।
केही दिनअघि दुवै देशका रेल्वे, सुरक्षा, भन्सार र अध्यागमन अधिकारी सम्मिलित टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत अनुगमनसमेत गरेको थियो। सेवा सञ्चालनका लागि आवश्यक व्यवस्थापन र प्राविधिक पक्षबारे छलफल जारी छ।
जनकपुर र अयोध्या जोड्ने रेल सेवा सुरु भएमा धार्मिक पर्यटक तथा तीर्थयात्रीलाई दुई पवित्र गन्तव्यबीच आवतजावत गर्न सहज हुनेछ। सीताको जन्मभूमि र रामको जन्मस्थललाई प्रत्यक्ष रेल सेवाले जोड्ने भएकाले रामायण सर्किटको धार्मिक पर्यटनले समेत गति लिने अपेक्षा गरिएको छ।
जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले यसले नेपाल–भारतको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप बलियो बनाउनुका साथै स्थानीय आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने बताएका छन्। पर्यटकको आवागमन बढ्दा होटल, यातायात, व्यापार र पर्यटनसँग जोडिएका व्यवसायले लाभ लिन सक्ने उनको भनाइ छ।
अहिले भारतको जयनगरबाट जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सञ्चालनमा छ।अब अयोध्यासम्मको विशेष सेवा सुरु गर्ने तयारीले जनकपुरलाई अन्तरदेशीय धार्मिक पर्यटनको नयाँ केन्द्रका रूपमा जोड्ने अपेक्षा बढाएको छ। तर उद्घाटनको मिति र नियमित सञ्चालनको विस्तृत तालिका भने औपचारिक रूपमा सार्वजनिक हुन बाँकी छ।
