`

नेपालको पहिलो दमकल सर्वसाधारणका लागि प्रदर्शनीमा (फोटो-फिचर)

Nepal One HD १४ कार्तिक २०८३ ११:०८
फोटोफिचर

काठमाडौं । कुनै बेला आगलागी नियन्त्रणका लागि बेलायतबाट मगाइएको नेपालको पहिलो ऐतिहासिक दमकल अहिले सर्वसाधारणले नजिकबाट हेर्न पाउने भएका छन्।

१०९ वर्ष पुरानो ऐतिहासिक दमकललाई काठमाडौंको वसन्तपुरस्थित जुद्ध वारुण यन्त्र परिसरमा सङ्ग्रहालय निर्माण गरी प्रदर्शनीमा राखिएको हो।

नेपालको अग्नि नियन्त्रण सेवाको इतिहास बोकेको दमकललाई पुरानै स्वरूपमा फर्काउन मर्मतसम्भार र रङरोगन गरिएको छ। त्यससँगै विगतमा आगो निभाउन प्रयोग गरिएका पुराना उपकरणसमेत सङ्ग्रहालयमा अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ।

नेपालमा दमकल भित्र्याउने इतिहास तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर जङ्गबहादुर राणासँग जोडिएको छ। विसं १९९४ मा उनले वसन्तपुरमा जुद्ध वारुण यन्त्र स्थापना गरेपछि नेपालमा पहिलोपटक दमकल सेवा सुरु भएको इतिहास छ। काठमाडौंको ऐतिहासिक सेतो दरबारमा भएको भीषण आगलागीपछि आगो नियन्त्रण गर्न बेलायतबाट दमकल मगाइएको थियो।

त्यतिबेला काठमाडौं उपत्यका सडकमार्गबाट तराई र भारतसँग जोडिएको थिएन। त्यसैले बेलायतबाट ल्याइएका तीनवटा दमकललाई मकवानपुरको भीमफेदीमा पाटपुर्जा छुट्याएर मानिसले काँधमा बोकी काठमाडौंसम्म ल्याएका थिए। त्यसबेलाको कठिन ढुवानी व्यवस्थाले पनि यो दमकलको इतिहासलाई थप रोचक बनाएको छ।

दमकलको अगाडिको भागमा ‘मेरी वेदर, मोरिस कमर्सियल लन्डन’ लेखिएको छ। वसन्तपुरस्थित जुद्ध वारुण यन्त्र परिसरमा बेलायती दमकलसँगै जर्मन प्रविधिका साना तथा ठूला पुराना दमकल पनि संरक्षण गरेर राखिएका छन्।

तीमध्ये ३५० लिटर क्षमताको सानो दमकल अहिले प्रयोग गर्न नसकिने अवस्थामा छ। ठूलो दमकलको इन्जिन परिवर्तन गरेर पुनः सञ्चालन गर्न सकिने सम्भावना भए पनि त्यसका लागि आवश्यक खर्च जुटाउन समस्या देखिएको छ।

काठमाडौंमा मात्रै होइन, भक्तपुर र ललितपुरमा रहेका पुराना दमकललाई पनि संरक्षण गरी सङ्ग्रहालयका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। भक्तपुरको दूधपाटीस्थित जुद्ध वारुण यन्त्र परिसरमा तीनवटा पुराना दमकल टहराभित्र राखिएका छन्। त्यसमध्ये एउटा ठूलो दमकलमा टिपरको इन्जिन जडान गरेर सञ्चालन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाइएको छ।

कुनै समय आगो निभाउन सडक र प्रविधिको अभावबीच काँधमा बोकेर काठमाडौं ल्याइएको ऐतिहासिक दमकल अहिले इतिहास बुझ्ने र पुरानो प्रविधि नियाल्ने सम्पदा बनेको छ।

यसको संरक्षणले नेपालको अग्नि नियन्त्रण सेवाको सुरुआती यात्रालाई नयाँ पुस्तासम्म पुर्‍याउने अपेक्षा गरिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *