चक्रवात ‘अर्नब’को प्रभाव घट्दै, शनिबार अपराह्नपछि वर्षा कम हुने
अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का वर्षा भइरहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ।
मौसमविद् डेभिड ढकालका अनुसार शनिबार अपराह्नदेखि चक्रवातको प्रभाव क्रमशः कमजोर हुँदै जानेछ। तर, मौसमको अवस्था ठाउँअनुसार फरक हुन सक्ने भएकाले मौसमसम्बन्धी सूचनामा ध्यान दिन उनले आग्रह गरेका छन्।
भारतमा शक्तिशाली चक्रवातका रूपमा विकसित भएको ‘अर्नब’ नेपाल आइपुग्दा कमजोर भई न्यूनचापीय प्रणालीमा परिणत भएको थियो। त्यसैले नेपालमा यसको प्रभावले ठूलो असर नपारेको र वर्षा, हिमपात तथा हावाहुरीको गतिविधि सामान्य रहेको महाशाखाले जनाएको छ।
शनिबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि बादल लाग्ने सम्भावना छ। यी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ।
शनिबार राति पनि देशका अधिकांश स्थानमा बदली रहनेछ। केही स्थानमा मध्यम वर्षा र हिमपात हुने तथा एक-दुई स्थानमा भारी वर्षा र हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोशीमा सबैभन्दा बढी ५०.२ मिलिमिटर वर्षा मापन भएको छ। यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ भने कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भएको छ।
