`

हिमपातको चेतावनीले मुस्ताङको पर्यटनमा धक्का, पर्यटक आधा घटे!

Nepal One HD १४ कार्तिक २०८३ ११:३३
अर्थ समाचार

काठमाडौं। मुस्ताङमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेको सूचनाले पर्यटन गतिविधि प्रभावित हुन थालेको छ । मौसम प्रतिकूल हुने चेतावनी सार्वजनिक भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन घटेको हो ।

जिल्ला प्रशासन कार्यालय, लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले बिहीबारदेखि शनिबारसम्म उच्च हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको भन्दै छुट्टाछुट्टै सूचना जारी गरेका थिए । मौसम पूर्वानुमान महाशाखाको चेतावनीलाई आधार बनाएर प्रशासन र स्थानीय तहले पर्यटक तथा सर्वसाधारणलाई उच्च पहाडी र हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेपछि बुधबारदेखि नै पर्यटकको चहलपहल घट्न थालेको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर महतका अनुसार दसैँपछि दैनिक करिब पाँच हजार पर्यटक मुस्ताङ पुग्ने गरेकामा बुधबारदेखि यो सङ्ख्या आधा घटेको छ । बुधबार बेनी–जोमसोम सडकमार्ग हुँदै दुई हजार ८३४ जना मुस्ताङ प्रवेश गरेका थिए । उक्त सङ्ख्यामा दसैँ बिदा सकेर कार्यक्षेत्र फर्किएका कर्मचारी, सुरक्षाकर्मी र स्थानीय नागरिकसमेत समावेश छन् ।

हिमपातको चेतावनीपछि बिहीबार म्याग्दी–मुस्ताङ सीमास्थित घाँसाबाट ७७९ वटा सवारीसाधन मुस्ताङ प्रवेश गरेका थिए । तर, बुधबार मात्रै थासाङ–३ स्थित इलाका प्रहरी कार्यालय लेतेको चेकपोस्ट हुँदै तीन हजार ३१२ जना पर्यटक मुस्ताङबाट बाहिरिएका थिए । सोही दिन ७९९ वटा सवारीसाधन जिल्ला बाहिरिएका थिए ।

मुक्तिनाथ दर्शन गर्न जानेको सङ्ख्यामा पनि उल्लेख्य कमी आएको छ । दुई दिनअघिसम्म दैनिक पाँच हजारभन्दा बढी भक्तजन तथा पर्यटकले मुक्तिनाथ दर्शन गर्ने गरेकामा बुधबार यो सङ्ख्या घटेर दुई हजार ४७९ मा सीमित भएको प्रहरी निरीक्षक महतले बताए । दर्शनार्थीमध्ये एक हजार ३०० नेपाली, एक हजार १५० सार्क राष्ट्रका र २१ जना अन्य मुलुकका नागरिक थिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको पर्यटक अनुमति जाँच केन्द्रले पनि मौसमसम्बन्धी चेतावनीपछि विदेशी पर्यटकको आगमन घटेको जनाएको छ । एक्याप जोमसोमका प्रमुख राजेश गुप्तका अनुसार चेतावनी जारी हुनुअघि दैनिक एक हजारभन्दा बढी विदेशी पर्यटक मुस्ताङ पुग्ने गरेकामा पछिल्लो समय आगमनमा करिब २५ प्रतिशत गिरावट आएको छ ।

एक्यापको तथ्याङ्कअनुसार पछिल्ला चार दिनमा तीन हजार ९६९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । अक्टोबर २५ मा ९९४, अक्टोबर २६ मा एक हजार ६०, अक्टोबर २७ मा ९१६ जना विदेशी पर्यटक आएका थिए । अक्टोबर २९ को साँझ ६ बजेसम्म भने ६०१ जना मात्रै मुस्ताङ पुगेका थिए । मुस्ताङ आएका विदेशी पर्यटकमध्ये १३० जना जोमसोमबाट बाहिरिएको एक्याप प्रमुख गुप्तले जानकारी दिए ।

उता, लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कोरलानाका तथा आसपासका क्षेत्रमा यात्रा नगर्न र सवारीसाधन नचलाउन सार्वजनिक अपिल गरेका छन् ।

हिमपातका कारण सडकमा हिउँ जम्ने, सवारी दुर्घटनाको जोखिम बढ्ने तथा अत्यधिक चिसोले स्वास्थ्यमा समस्या निम्त्याउन सक्ने भन्दै उनले बिहीबारदेखि शनिबारसम्म उपल्लो मुस्ताङको यात्रा स्थगित गर्न आग्रह गरेका छन् । यात्रामा रहेकाहरूलाई समेत सतर्कता अपनाउन स्थानीय प्रशासन र जनप्रतिनिधिले अनुरोध गरेका छन् ।

मौसमको प्रतिकूलताले धार्मिक तथा प्राकृतिक पर्यटनका लागि चर्चित मुस्ताङको चहलपहलमा तत्कालै असर देखिएको छ । जोखिम टरेपछि पर्यटकको आवागमन पुरानै लयमा फर्किने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *