तिहारको बजार ताक्दै आँबुगाउँका छ किसानको सामूहिक सयपत्री खेती
दमौली (तनहुँ), १३ कात्तिक । तिहारमा स्थानीय फूलको माग पूरा गर्दै आम्दानी गर्ने लक्ष्यसहित तनहुँको आँबुखैरेनी गाउँपालिका-३ आँबुगाउँका छ जना किसानले सामूहिक सयपत्री खेती सुरु गरेका छन्। पहिलोपटक व्यावसायिक फूलखेतीमा जुटेका उनीहरूले पाँच रोपनी जग्गामा आठ हजार बिरुवा रोपेका हुन्।
तिहार नजिकिँदै गर्दा किसान फूलको हेरचाहमा व्यस्त छन्। चाडपर्वमा पूजाआजा, माला र घर सजावटका लागि प्रयोग हुने सयपत्री स्थानीयस्तरमै उत्पादन गरेर बजारमा पुर्याउने उनीहरूको तयारी छ।
फूलखेतीमा संलग्न मैना राना आलेले तिहारमा स्थानीय उत्पादनलाई प्राथमिकता दिन आग्रह गर्नुभयो। चाडपर्वमा बढ्ने फूलको मागलाई स्थानीय किसानको उत्पादनसँग जोड्न सके आम्दानीको अवसर बढ्ने उहाँको भनाइ छ।
“स्थानीय किसानबाटै फूल खरिद गर्ने वातावरण बनाउनुपर्छ,” उहाँले भन्नुभयो। स्थानीय फूलको प्रयोग बढे किसानलाई प्रोत्साहन मिल्नुका साथै बाहिरबाट फूल ल्याउनुपर्ने आवश्यकता कम गर्न सकिने उहाँले बताउनुभयो।
अर्की किसान सीता श्रेष्ठले गाउँपालिकाको प्रोत्साहनपछि आफूहरू फूलखेतीतर्फ आकर्षित भएको जानकारी दिनुभयो। तिहारको मागलाई ध्यानमा राखेर खेती सुरु गरेकाले उत्पादित फूलले बजार पाउनेमा समूह विश्वस्त रहेको उहाँले बताउनुभयो।
आँबुखैरेनी गाउँपालिकाले किसानलाई फूलखेतीतर्फ आकर्षित गर्न प्रोत्साहन गर्दै आएको छ। गाउँपालिकाको कृषि शाखाका प्रमुख सन्तोष केसीले सयपत्रीको बजार सम्भावना देखेर किसान यस खेतीमा जुटेको बताउनुभयो।
उहाँका अनुसार तिहारमा बढ्ने मागअनुसार स्थानीय उत्पादन विस्तार गर्न सके किसानले आम्दानीको अवसर पाउन सक्छन्। आँबुगाउँमा सुरु गरिएको सामूहिक खेती सफल भए आगामी दिनमा फूलखेती विस्तारका लागि पनि आधार बन्ने उहाँको भनाइ छ।
किसानको अहिलेको ध्यान फूलको हेरचाह र तिहारमा बिक्री गर्ने तयारीमा केन्द्रित छ। उनीहरूले उपभोक्तालाई चाडपर्वका लागि स्थानीयस्तरमै उत्पादित सयपत्री रोजेर किसानको प्रयासमा साथ दिन आग्रह गरेका छन्।
