`

प्रहरी पोसाक खरिद अध्ययन उपसमिति : मङ्सिर १ देखि सम्बन्धितको बयान

Nepal One HD १४ कार्तिक २०८३ ६:४६
राजनीति

काठमाडौँ- निर्वाचन प्रहरीको पोसाक खरिदबारे अध्ययन गर्न गठित उपसमितिले समयसीमासहित अध्ययनको कार्यसूचीलाई अन्तिमरुप दिएको छ । सिंहदरबारमा भएको उपसमितिको बैठकले यही कात्तिकसम्म विभिन्न दस्तावेजको अध्ययन गर्ने निर्णय गरेको हो ।

आगामी मङ्सिर १ देखि १५ गतेसम्म सम्बन्धित पक्षको बयान र अन्तर्वार्ता तथा विषयविज्ञसँग छलफल गर्ने तथा अन्तिम पाँच दिन प्रतिवेदन लेखनका लागि छुट्याउने बारेमा आजको बैठकले सहमति जुटाएको उपसमितिका संयोजक एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जानकारी दिनुभयो ।

उपसमितिले यसअघि अध्ययनको कार्यअवधि र कार्यविधि तोकिसकेको छ । उपसमितिलाई दुई महिनाको समयावधि दिइएको छ । आगामी मङ्सिर २० गतेसम्म उपसमितिले प्रतिवेदन बुझाइसक्नुपर्नेछ । उपसमितिमा सांसदहरु खगेन्द्र सुनार, गणेश धिमाल, योगेश गौचन थकाली, ऐन महर, रमेशकुमार मल्ल, महेन्द्रबहादुर शाही, आरेन राई र खुश्बु ओली सदस्य हुनुहुन्छ ।

रास्वपा सांसद सुनारले गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका क्रममा निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमिता भएको भन्दै छानबिनको माग गर्दै आउनुभएको थियो । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको गत असोज १६ गतेको बैठकले प्रहरीको पोसाक खरिद सम्बन्धमा अध्ययन गर्न झाको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *