गोदावरीमा फूलको महामेला [फोटो-फिचर]
ललितपुर । तिहार र छठलाई लक्षित गर्दै ललितपुरमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा बिहीबारदेखि सुरु भएको पाँचदिने प्रदर्शनीमा ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा अवलोकन र खरिदका लागि राखिएका छन्।
‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नारासहित आयोजित प्रदर्शनीमा नेपालमा उत्पादित गोदावरीका विभिन्न प्रजातिका साथै यस वर्ष भित्रिएका नयाँ जातका फूलसमेत प्रदर्शन तथा बिक्री भइरहेको छ।
आयोजकका अनुसार प्रदर्शनीमा ८६ वटा स्टल राखिएका छन्। तीमध्ये ७८ वटा व्यावसायिक स्टल छन्। त्यस्तै, एउटा प्लान्ट क्लिनिक, चारवटा आधिकारिक स्टल, दुईवटा प्रतियोगितात्मक स्टल र एउटा फोटो सेल्फी स्टल सञ्चालनमा छन्।
प्रदर्शनीमा नर्सरी तथा पुष्प फार्मबीच गोदावरी फूलका पाँच विधामा प्रतिस्पर्धा गराइएको छ। मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा सहभागीले आफ्ना उत्पादन प्रस्तुत गरेका छन्। यस वर्ष उत्कृष्ट स्टलसँगै उत्कृष्ट पुष्प सजावट विधामा पनि प्रतिस्पर्धा थपिएको छ।
विभिन्न विधामा उत्कृष्ट हुने सहभागीलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतिस्पर्धाले पुष्प उत्पादकलाई गुणस्तरीय उत्पादन गर्न प्रोत्साहन गर्नुका साथै नयाँ प्रजाति र सजावटका शैलीबारे जानकारी आदानप्रदान गर्ने अवसर दिने अपेक्षा गरिएको छ।
तिहारमा घर, आँगन र कार्यालय सजाउन गोदावरी फूलको माग बढ्ने भएकाले प्रदर्शनीलाई उत्पादक र उपभोक्ताबीचको सम्बन्ध बलियो बनाउने अवसरका रूपमा हेरिएको छ। यसले स्वदेशी फूलको प्रचारप्रसार, बिक्री र व्यावसायिक उत्पादन विस्तारमा सहयोग पुग्ने आयोजकको विश्वास छ।
पाँच दिनसम्म चल्ने प्रदर्शनीमा ३९ हजारभन्दा बढी दर्शक सहभागी हुने र एक करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अनुमान छ।
फूलप्रेमी, व्यवसायी र सर्वसाधारणले प्रदर्शनीमा विभिन्न प्रजातिका फूल हेर्नुका साथै आफूलाई आवश्यक फूल तथा बिरुवा खरिद गर्न सक्नेछन्।


















