`

सबै कुरा भएर पनि मानिस किन दुःखी हुन्छ ?

शुभेच्छा खड्का २० कार्तिक २०८३ १७:३०
जीवनशैली/स्वास्थ्य

काठमाडाै‌‌ । कहिलेकाहीँ मानिससँग सबै कुरा हुन्छ, तर पनि ऊ खुसी हुँदैन । धनसम्पत्ति, परिवार, राम्रो जागिर र सुखसुविधा हुँदाहुँदै पनि मनमा एक किसिमको खालीपन महसुस हुन्छ । कतिपय मानिस सामान्य समस्यामा पनि निकै दुःखी हुन्छन् भने कतिपय ठूलो संकटमा समेत आफूलाई सम्हालेर अघि बढ्छन् । 

आखिर मानिस किन दुःखी हुन्छ ? खुसी हुन के चाहिन्छ ? के पैसा, सफलता र सुखसुविधाले मात्रै मानिसलाई खुसी बनाउन सक्छन् ?

मानिसको जीवनमा खुसी, दुःख, निराशा, उत्साह र रोदन स्वाभाविक भावना हुन् । जीवनमा आउने उतारचढावले मानिसको भावनात्मक अवस्थामा परिवर्तन ल्याउँछ । तर आवश्यकताभन्दा बढी निराश भइरहने, सानो कुरामा अत्यधिक चिन्ता गर्ने वा लामो समयसम्म दुःखी भइरहने अवस्था भने मानसिक स्वास्थ्य समस्याको संकेत हुन सक्छ ।

वैज्ञानिक दृष्टिकोणअनुसार मानिस दुःखी हुनुको पछाडि एउटै कारण हुँदैन । मस्तिष्कको रसायन, आनुवंशिक अवस्था, वातावरण, पारिवारिक तथा सामाजिक सम्बन्ध र व्यक्तिको सोच्ने तरिकाले मानिसको भावनात्मक अवस्था निर्धारण गर्छन् ।

मस्तिष्कमा सेरोटोनिन, डोपामाइन, इन्डोर्फिन र अक्सिटोसिनजस्ता रसायनले भावनात्मक अवस्थालाई प्रभावित गर्छन् । यिनीहरूको कार्यप्रणालीमा आउने गडबडीले उदासी, निराशा र उत्साहको कमी अनुभव हुन सक्छ । त्यस्तै लामो समयसम्म तनावमा रहँदा शरीरमा कोर्टिसोल नामक हर्मोनको स्तर बढ्न सक्छ । यसले निद्रा, स्मरणशक्ति र भावना नियन्त्रण गर्ने क्षमतामा असर पुर्‍याउन सक्छ ।

मानसिक स्वास्थ्य समस्याका जैविक, मनोवैज्ञानिक र सामाजिक कारण हुन सक्छन् । एन्जाइटी र डिप्रेसनजस्ता समस्याका कारण मानिस बिना स्पष्ट कारण पनि अत्यधिक निराश हुन सक्छ । कतिपय अवस्थामा बाल्यकालदेखि नै सानो कुरामा चिन्ता गर्ने स्वभाव हुन्छ । कुनै अप्रिय घटना वा परिस्थितिले पनि मानिसको स्वभावमा परिवर्तन ल्याउन सक्छ ।

मानिस दुःखी हुनुको एउटा प्रमुख कारण उसले आफ्नो जीवन, समस्या र परिस्थितिलाई हेर्ने दृष्टिकोण पनि हो ।

धेरै महत्त्वाकांक्षा राख्ने तर आफूसँग भएको कुरामा सन्तोष गर्न नसक्ने व्यक्तिहरू प्रायः असन्तुष्ट रहन्छन् । उनीहरूलाई आफूसँग भएका कुराले खुसी दिन सक्दैनन् । सधैं अरूभन्दा राम्रो बन्ने र अझ धेरै प्राप्त गर्ने चाहनाले उनीहरूलाई निरन्तर दौडाइरहन्छन् ।

कतिपय मानिस आफ्नो लक्ष्यमा पुग्न नसक्दा निराश हुन्छन् । असफलतालाई स्वीकार गर्न नसक्दा उनीहरूमा दुःख र निराशा बढ्दै जान्छ । असफलता जीवनको एउटा स्वाभाविक पक्ष हो । तर त्यसलाई आत्मसात गर्न नसक्दा सामान्य असफलताले पनि मानसिक तनाव सिर्जना गर्न सक्छ ।

अपेक्षा पनि दुःखको अर्को कारण हो । मानिसले परिवार, सन्तान र साथीभाइबाट आफूले चाहेअनुसारको व्यवहारको अपेक्षा गर्छ । तर सबै कुरा आफ्नो इच्छाअनुसार नहुँदा निराशा उत्पन्न हुन्छ । अरूबाट अत्यधिक अपेक्षा राख्ने र अपेक्षा पूरा नभएमा दुःखी हुने प्रवृत्तिले सम्बन्धमा समेत समस्या निम्त्याउन सक्छ ।

त्यस्तै आधारभूत आवश्यकता पूरा नहुँदा मानिस दुःखी हुनु स्वाभाविक हो । आर्थिक अभाव, बेरोजगारी, पारिवारिक समस्या र सामाजिक असुरक्षाले पनि मानिसको मानसिक अवस्थामा असर पार्छन् ।

धेरैको बुझाइमा पैसा भएपछि जीवनमा दुःख हुँदैन । आर्थिक रूपमा सम्पन्न भएपछि खुसी प्राप्त हुन्छ भन्ने मान्यता पनि छ । तर वास्तविकता त्यस्तो मात्र छैन ।

पैसा जीवनका आधारभूत आवश्यकता पूरा गर्न आवश्यक छ । खान, बस्न, शिक्षा, स्वास्थ्य र सुरक्षित जीवनका लागि आर्थिक स्रोत चाहिन्छ । तर धेरै सम्पत्ति हुँदैमा मानिस खुसी हुन्छ भन्ने ग्यारेन्टी हुँदैन ।

गरिब मानिसलाई आर्थिक अभावले दुःखी बनाउन सक्छ । धनी मानिसलाई पनि सम्पत्ति जोगाउने, बढाउने र आफ्नो आर्थिक हैसियत कायम राख्ने चिन्ताले सताउन सक्छ । त्यसैले पैसा मात्रै खुसीको आधार होइन ।

कतिपय आर्थिक रूपमा सम्पन्न मानिससमेत मानसिक रूपमा असन्तुष्ट र निराश हुन्छन् । उनीहरू भौतिक आवश्यकताभन्दा बाहिरका खुसीका स्रोत खोजिरहेका हुन्छन् । यसले खुसीका लागि आर्थिक सम्पन्नतासँगै मानसिक सन्तुष्टि र सामाजिक सम्बन्ध पनि महत्त्वपूर्ण हुन्छन् भन्ने देखाउँछ ।

जीवनमा सधैं सुख मात्रै हुँदैन । दुःख पनि जीवनकै एउटा हिस्सा हो । सुख र दुःख दुवै अस्थायी अवस्था हुन् भन्ने कुरा बुझ्न सके मानिसले कठिन परिस्थितिको सामना गर्न सक्छ ।

खुसी रहन सकारात्मक सोचको विकास गर्नुपर्छ । रिस, ईर्ष्या, लोभ र नकारात्मक धारणालाई नियन्त्रण गर्न सक्नुपर्छ । अरूसँग अनावश्यक तुलना गर्ने र अत्यधिक अपेक्षा राख्ने बानी कम गर्नुपर्छ ।

खुसी बाँड्दा खुसी बढ्छ । अरूलाई सहयोग गर्ने, आफ्ना भावना व्यक्त गर्ने र जीवनमा भएका साना उपलब्धिको पनि कदर गर्ने बानीले मानसिक सन्तुष्टि बढाउन सक्छ ।

नशालु पदार्थले केही समयका लागि राहत वा खुसीको अनुभूति दिए पनि दीर्घकालमा मानसिक तथा शारीरिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छन् । त्यसैले यस्ता पदार्थबाट टाढा रहनु उचित हुन्छ ।

खुसी हुनु भनेको जीवनमा कुनै दुःख नआउनु होइन । दुःख र समस्याका बीच पनि आफूलाई सम्हालेर अघि बढ्न सक्नु हो । साथै, सुखी जीवनको आधार भौतिक सम्पन्नता मात्र होइन, स्वस्थ मस्तिष्क, सन्तुलित भावना र सकारात्मक सामाजिक सम्बन्ध पनि हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *