लुम्बिनीको अपराजित यात्रा कायमै
काठमाडाैं। बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अपराजित यात्रा कायमै राखेको छ। बिहीबार भएको खेलमा लुम्बिनीले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको हो।
लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो। लगातार विकेट गुमाएको जनकपुरले अन्तिमसम्म प्रतिस्पर्धा गर्ने प्रयास गरे पनि लक्ष्यसम्म पुग्न सकेन।
जनकपुरका कप्तान हर्मीत सिंह र आदित्य महताले तल्लो क्रमबाट ब्याटिङ सम्हाल्दै जितको आशा जगाएका थिए। तर, उनीहरूको प्रयास पर्याप्त भएन। आठौँ नम्बरमा ब्याटिङ गर्न आएका हर्मीतले २० बलमा ३ छक्कासहित सर्वाधिक ३३ रन बनाए। आदित्यले २३ बलमा ४ चौकासहित अविजित ३० रन जोडे।
एक समय ६५ रनमै पाँच विकेट गुमाएको जनकपुरका लागि यी दुईले आठौँ विकेटमा ४३ रनको साझेदारी गरे। तर, १८औँ ओभरको चौथो बलमा हर्मीत आउट भएपछि जनकपुरको जित्ने सम्भावना कमजोर बन्यो।
बंगलादेशी खेलाडी सेफ हसनले २८ र ओपनर तृतराज दासले १८ रन बनाए। परभेज हुसेन इमोन एक, विशाल सुशिलङ चार, अनिल शाह एक र जिमी निशम नौ रनमा आउट भए। अभिषेक तिवारीले खाता खोल्न सकेनन्।
लुम्बिनीको जितमा डार्सी सर्टले निर्णायक बलिङ गरे। उनले चार ओभरमा २३ रन खर्चेर तीन विकेट लिए। तिलक भण्डारीले दुई तथा रुबेन ट्रम्पलम्यान र शेर मल्लले एक–एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले आठ विकेट गुमाएर १४९ रन बनाएको थियो।
लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए। उनले ३१ बलमा चार चौका र एक छक्का प्रहार गरे। निरोशन डिकवेलाले २७ बलमा २७ रन जोडे। आसिफ शेख र दिलीप नाथले समान २१ रन बनाउँदा शामिन हुसेनले १३ रनको योगदान दिए।
ओपनर डार्सी सर्ट पहिलो बलमै आउट भएका थिए। त्यसपछि रुबेन ट्रम्पलम्यानले आक्रामक ब्याटिङ गर्दै आठ बलमा दुई छक्कासहित १५ रन बनाए। सन्दीप जोराले नौ रन जोडे।
लुम्बिनीलाई मध्यम योगफलमा रोक्न जनकपुरका बलरले पनि राम्रो प्रयास गरेका थिए। जनकपुरले १७ ओभर स्पिन बलिङ गराएको थियो। स्पिनरले चार र तीव्र गतिका बलरले तीन विकेट लिए। विशाल सुशिलङ र राहुल यादवले दुई–दुई विकेट लिए। कप्तान हर्मीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट हात पारे।
यो जितसँगै लुम्बिनीले प्रतियोगितामा खेलेका तीनवटै खेल जितेको छ। चितवन राइनोजविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको लुम्बिनी चार खेलबाट सात अंकसहित तालिकाको शीर्ष स्थानमा छ। यससँगै टोलीले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ।
पाँच खेल खेलिसकेको जनकपुरको भने यो तेस्रो हार हो। बाँकी दुवै खेल जित्नुपर्ने दबाबमा रहेको जनकपुरका लागि अब प्लेअफ यात्रा चुनौतीपूर्ण बनेको छ।
