`

अमेरिकी चुनावको असर : कच्चा तेलको मूल्य १०० डलरमुनि, सेयर बजारमा उछाल

Nepal One HD २० कार्तिक २०८३ १३:३५
अर्थ समाचार

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले ऐतिहासिक जित हासिल गरेपछि अन्तर्राष्ट्रिय बजारमा त्यसको प्रभाव देखिएको छ । निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले संसद्का दुवै सदनमा नियन्त्रण गुमाएपछि कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ । अमेरिकी तथा भारतीय सेयर बजारमा भने उल्लेख्य वृद्धि भएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारको बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ८.७ प्रतिशतले घटेर प्रतिब्यारेल ९४.६२ डलरमा झरेको छ । अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) को मूल्य पनि ८.३ प्रतिशतले घटेर ८८.१२ डलर कायम भएको छ । दुवै कच्चा तेलको मूल्य अगस्ट ३१ यताकै न्यून हो ।

त्यस्तै, मध्यपूर्वमा जारी अमेरिका-इजरायल र इरानबीचको युद्धका कारण तेलको आपूर्तिमा अवरोध सिर्जना भएको थियो । त्यसले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढाएको थियो । तर, अमेरिकी निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि युद्ध अन्त्य हुन सक्ने सम्भावना बढेको आकलन लगानीकर्ताले गरेका छन् ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि निर्वाचनमा पार्टीको पराजयको प्रमुख कारण इरानसँगको युद्ध भएको टिप्पणी गरेका छन् । उनले युद्धका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले समेत युद्ध र त्यसले इन्धनको मूल्यमा पारेको प्रभावले निर्वाचनमा पार्टीलाई क्षति पुगेको स्वीकार गरेका छन् ।

डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदनमा बहुमत हासिल गरेपछि ट्रम्प प्रशासनमाथि युद्ध अन्त्य गर्न थप राजनीतिक दबाब पर्ने देखिएको छ । नयाँ संसद्ले सैन्य खर्च, युद्धसम्बन्धी निर्णय र प्रशासनका नीतिमाथि निगरानी बढाउन सक्ने भएकाले लगानीकर्तामा मध्यपूर्वको तनाव कम हुने आशा पलाएको हो ।

यसको सकारात्मक प्रभाव अमेरिकी सेयर बजारमा पनि परेको छ । बुधबार डाउ जोन्स इन्डस्ट्रियल एभरेज ३ प्रतिशत अर्थात् एक हजार ५६९ अंकभन्दा बढीले बढेको छ । एसएन्डपी ५०० सूचकांक १.६ प्रतिशत र प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्डाक कम्पोजिट १.४ प्रतिशतले उकालो लागेको छ ।

भारतीय सेयर बजारमा पनि वृद्धि भएको छ । बुधबार कारोबार बन्द हुँदा बम्बई स्टक एक्सचेन्जको सेन्सेक्स ३८३.५५ अंक अर्थात् ०.५० प्रतिशतले बढेर ७७ हजार ३०१.४० विन्दुमा पुगेको छ । त्यस्तै, नेसनल स्टक एक्सचेन्जको निफ्टी १४९.७५ अंक अर्थात् ०.६३ प्रतिशतले बढेर २३ हजार ९६०.६० विन्दुमा बन्द भएको छ ।

कच्चा तेलको मूल्यमा आएको गिरावट, विदेशी लगानीकर्ताको सक्रियता र अमेरिकी निर्वाचन परिणामले बजारमा सकारात्मक वातावरण बनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *