ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, चालक फरार
सिरहा । सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडकखण्डमा बिहीबार बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ना.१ घ.५५३ नम्बरको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ट्रक चौहर्वाबाट सिरहातर्फ जाँदै थियो । सोही क्रममा सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको स.९ प.७६५० नम्बरको मोटरसाइकलसँग ट्रक ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार पहिचान नखुलेका दुई पुरुष गम्भीर घाइते भएका थिए । उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि ट्रक चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारीसाधनलाई नियन्त्रणमा लिने प्रक्रिया अघि बढाइएको छ भने मृतकको पहिचान र आफन्तको खोजीसमेत भइरहेको प्रहरीले जनाएको छ ।
