`

द्रौपदीलाई बारमा नचाएको दृश्यले विवादले पनि ‘पाँच पाण्डव’को प्रदर्शन रोकिएन

Nepal One HD २० कार्तिक २०८३ १३:११
मनोरञ्जन

काठमाडौं । धार्मिक आस्थामाथि चोट पुर्‍याएको भन्दै चौतर्फी विरोध भएको नेपाली चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन नरोकिने भएको छ । चलचित्र जाँचपास समितिले सेन्सर पास भइसकेको चलचित्रलाई प्रदर्शनमा कुनै अवरोध हुन नदिने निर्णय गरेको छ ।

बिहीबार बसेको समितिको बैठकले चलचित्र प्रदर्शन गर्ने अधिकार निर्माण पक्षसँग सुरक्षित रहेको निष्कर्ष निकालेको हो ।

चलचित्र जाँचपास समितिका सदस्य मनोज पण्डितका अनुसार बैठकमा मुख्य तीन विषयमा छलफल भएको थियो । समितिले प्रदर्शन अनुमति दिइसकेपछि चलचित्र प्रदर्शन गर्ने अधिकार चलचित्रकर्मीकै हुने स्पष्ट पारेको छ । समितिको विश्वसनीयता र गरिमा जोगाउनु राज्यको दायित्व भएको पनि निष्कर्ष निकालेको छ ।

त्यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्रीले चलचित्रकर्मीको सिर्जना र प्रदर्शनको अधिकार संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन् । चलचित्र प्रदर्शनमा कुनै पनि बहानामा अवरोध आउन नदिन मन्त्रीले निर्देशन दिएको पण्डितले जानकारी दिए ।

तर, समितिले चलचित्रको प्रचारप्रसार शैलीप्रति भने असन्तुष्टि जनाएको छ । धार्मिक आस्थासँग जोडिएको चलचित्रको प्रचार गर्दा निर्माण पक्षले भाइरल हुने नाममा उक्साहटपूर्ण रणनीति अपनाएको पण्डितको भनाइ छ ।

समितिले आगामी दिनमा दर्शकलाई आकर्षित गर्ने जिम्मेवार प्रचारशैली अपनाउन चलचित्रकर्मीलाई आग्रहसमेत गरेको छ ।

यसअघि चलचित्र ‘पाँच पाण्डव’मा हिन्दु धर्मग्रन्थकी पात्र द्रौपदीलाई बारमा नचाइएको दृश्य सार्वजनिक भएपछि विवाद चर्किएको थियो । विभिन्न धार्मिक सङ्घसंस्थाले उक्त दृश्यप्रति आपत्ति जनाउँदै विरोध गरेका थिए ।

सामाजिक सञ्जालमा समेत चलचित्रको चर्को आलोचना भएको थियो । विवाद बढेपछि गृह मन्त्रालयले चलचित्रको प्रदर्शन तत्काल रोक्न मौखिक निर्देशन दिएको चर्चा चलेको थियो ।

तर, चलचित्र जाँचपास समिति र सञ्चार मन्त्रालयको निर्णयसँगै चलचित्र प्रदर्शनको बाटो खुलेको छ ।

वरिष्ठ कलाकार हरिवंश आचार्य, आर्यन सिग्देल र जितु नेपाललगायतको अभिनय रहेको चलचित्र शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *