१४ देशका ३८ चलचित्र काठमाडौंमा, पहिलो फिल्म फेस्टिभल सम्पन्न
काठमाडौं । विश्वका १४ देशका ३८ चलचित्र प्रदर्शन गर्दै काठमाडौंको पहिलो ‘फिल्म फेस्टिभल’ सम्पन्न भएको छ । नेपाली कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय पर्दासम्म पुर्याउने उद्देश्यसहित कात्तिक १३ गते सुरु भएको महोत्सव १५ गते बौद्धस्थित तारागाउँ नेक्स्टमा समापन भएको हो ।
युनेस्कोको सिर्जनशील चलचित्र सहर सञ्जालमा आबद्ध भएपछि काठमाडौंमा पहिलोपटक आयोजित महोत्सवमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शन गरिए । राष्ट्रिय सभा गृह र जय नेपाल चलचित्र भवनमा चलचित्र प्रदर्शनसँगै कार्यशाला, अन्तरक्रिया, छलफल र सांस्कृतिक कार्यक्रमसमेत आयोजना भए ।
वसन्तपुरबाट सम्पदा यात्रासहित सुरु भएको महोत्सवमा परम्परागत बाजागाजा, गणेश चर्या र अष्टमातृका नृत्य प्रस्तुत गरिएको थियो । दोस्रो दिनको रातो कार्पेट समारोहमा भारतीय अभिनेत्री शबाना आजमीसहित नेपाली कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, करिश्मा मानन्धर, दीपकराज गिरी र केकी अधिकारी सहभागी भए ।
महोत्सवको ‘मेरो संस्कृति, मेरो सम्पदा’ लघु चलचित्र प्रतियोगितामा जीवन सुनुवार निर्देशित ‘भकुण्डे भूत’ पहिलो भयो । अनुभव श्रेष्ठको ‘द सोल अफ गुठी’ दोस्रो र सौगात सापकोटाको ‘झिँगु छेँ’ तेस्रो भए ।
समापन समारोहमा कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले चार वर्षभित्र चलचित्र महोत्सव आयोजना गर्ने प्रतिबद्धता पूरा भएको बताइन् । आगामी संस्करणलाई अझ व्यवस्थित बनाउँदै नेपाली कथालाई विश्वभर पुर्याउने महानगरको लक्ष्य रहेको उनको भनाइ थियो ।
वरिष्ठ कलाकार नीर शाहले महोत्सवको अनुभव अभिलेखन र पुस्तान्तरण गर्नुपर्ने बताए । अभिनेता राजेश हमालले चलचित्रमार्फत नेपाली समाज र सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनुपर्नेमा जोड दिए । सांघाई फिल्म एकेडेमीका प्राध्यापक मार्को मुलरले पनि नेपालमा चलचित्र उद्योग विकासको पर्याप्त सम्भावना रहेको बताए ।
तीन दिनसम्म चलेको महोत्सवले काठमाडौंको सम्पदा, संस्कृति र चलचित्रलाई एउटै मञ्चमा जोडेको छ । महानगरपालिकाले यसलाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन र सिर्जनात्मक उद्योग विकासको अभियानका रूपमा अघि बढाउने जनाएको छ ।
