`

जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुडाको ९० वर्षको उमेरमा निधन

Nepal One HD १० कार्तिक २०८३ १५:५९
विश्व

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुडाको ९० वर्षको उमेरमा निधन भएको छ । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले उनको निधन भएको जानकारी दिएको हो ।

स्रोतका अनुसार फुकुडाको गत बिहीबार टोकियोमा हृदयाघातका कारण निधन भएको थियो । उनको अन्त्येष्टि परिवारका निकट सदस्यहरूको उपस्थितिमा निजी रूपमा सम्पन्न भइसकेको छ । सार्वजनिक श्रद्धाञ्जली सभा भने पछि आयोजना गरिने जनाइएको छ ।

फुकुडा सन् २००७ को सेप्टेम्बरमा जापानको प्रधानमन्त्री बनेका थिए । सौम्य कूटनीतिक शैलीका लागि परिचित उनले आफ्ना पूर्ववर्ती शिन्जो आबेको नीतिलाई निरन्तरता दिएका थिए ।

प्रधानमन्त्री बन्नुअघि उनले सन् २००० देखि २००४ सम्म योशिरो मोरी र जुनिचिरो कोइजुमीको कार्यकालमा मुख्य मन्त्रिपरिषद् सचिवका रूपमा काम गरेका थिए ।

फुकुडा एलडीपी राजनीतिक दबाबमा रहेको समयमा प्रधानमन्त्री बनेका थिए । सन् २००७ को जुलाईमा भएको निर्वाचनमा सत्तारूढ गठबन्धनले माथिल्लो सदनमा बहुमत गुमाएको थियो । त्यसपछि उनले विभाजित संसद र बलियो बन्दै गएको विपक्षी डेमोक्रेटिक पार्टी अफ जापानको सामना गर्नुपरेको थियो ।

तत्कालीन विपक्षी नेता इचिरो ओजावासँग एलडीपी र डेमोक्रेटिक पार्टी अफ जापानबीच बृहत् गठबन्धन बनाउने विषयमा भएको वार्ता पनि सफल हुन सकेन । प्रधानमन्त्रीका रूपमा फुकुडाले यस्ता विभिन्न राजनीतिक चुनौतीको सामना गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *