रियाद विमानस्थलमा उडान पुनः सुरु
रियाद। यमनी हुथीहरूले साउदी अरबमा आक्रमण गरेपछि बन्द रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा दुई हप्तापछि आइतबार उडानहरू पुनः सुरु भएका छन् ।
किङ खालिदा अन्तर्राष्ट्रिय विमानस्थलको वेबसाइटमा आज धेरै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरूको तालिका राखिएको छ । तालिकामा दुबई, पेरिस र कायरोबाट आउने उडानहरू समावेश छन् ।
विमानस्थलमा पुनः सञ्चालन सुरु हुँदा आइतबार बिहानै रियादमा विस्फोटका आवाजहरू सुनिएका थिए । त्यसअघि बासिन्दाहरूलाई शहरलाई लक्षित शत्रुतापूर्ण खतराबारे चेतावनी दिने एसएमएस पठाइएको थियो । विमानस्थल बन्द हुनु साउदी अरबका लागि ठूलो झट्का थियो ।
यसका कारण देशको प्रमुख लगानी सम्मेलन सन् २०२७ का लागि सारिएको छ भने बासिन्दाहरू देश छिर्ने र निस्कने वैकल्पिक बाटो खोज्न बाध्य भएका थिए ।
एएफपीले सोध्दा साउदी अधिकारीहरूले विमानस्थलमा पुनः सुरु भएका सञ्चालनको दायराबारे थप जानकारी दिएनन् तर ट्र्याकिङ वेबसाइट फ्लाइटराडर२४ ले केही उडानहरू प्रस्थान गरेको देखाएको छ, यद्यपि अधिकांश उडानहरू अझै रद्द भएका छन् ।
यस महिनाको एउटा आक्रमणमा १३ जनाको मृत्यु र ३०० भन्दा बढी घाइते भएका थिए, जुन एक दशकभन्दा बढी समयमा राज्यमा भएको सबैभन्दा घातक आक्रमण हो । हुथीहरूले साउदी विमानस्थलमा लगातार आक्रमण गर्दै आएका छन् ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियाद विमानस्थल अझै ‘सुरक्षित नरहेको’ र ‘सैन्य लक्ष्य रहेको’ बताउनुभएको थियो ।
उहाँले भन्नुभयो, “यमनी सशस्त्र बलले सबै अन्तर्राष्ट्रिय, क्षेत्रीय र स्थानीय विमान कम्पनी तथा कर्मचारी र यात्रुहरूलाई रियादको किङ खालिद विमानस्थल प्रयोग नगर्न चेतावनी दिन्छ, किनकि यो असुरक्षित छ र हाम्रो बलका लागि सैन्य लक्ष्य हो।”
उहाँले भन्नुभएको छ, “विमानस्थलमा हुने कुनै पनि सञ्चालनको परिणाम साउदी सत्ताले भोग्नुपर्नेछ।”
