`

बुटवलमा नयाँ प्रविधिको १८ डी प्लस थिएटर र मिरर मेज सञ्चालनमा

Nepal One HD १५ कार्तिक २०८३ १५:३२
मनोरञ्जन
काठमाडाै‍‌ । बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्समा नयाँ प्रविधिमा आधारित १८ डी प्लस मुभी थिएटर र मिरर मेज (भुलभुलैया) सञ्चालनमा आएको छ। पुरानै स्थानलाई नयाँ स्वरूप र अवधारणासहित विकास गरी मनोरञ्जन केन्द्रका रूपमा सञ्चालनमा ल्याइएको हो।

नेक्स्टजेन एडभेन्चर इन्टरटेनमेन्ट प्रालिले स्थानीयवासी, आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जनको फरक अनुभव प्रदान गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालनमा ल्याएको हो। यस परियोजनामा बुटवलका युवा व्यवसायी प्रकाश भुसाल, दीपक ढकाल, सुदीप काफ्ले र सिद्धार्थ थापाले संयुक्त लगानी गरेका छन्।

सञ्चालक प्रकाश भुसालका अनुसार एक सातादेखि परीक्षणका रूपमा सञ्चालन भइरहेको केन्द्रको औपचारिक उद्घाटन आगामी कात्तिक १५ गते गर्ने तयारी छ। बुटवलमा मनोरञ्जनका नयाँ गतिविधि थप्दै स्थानीयसँगै बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्यसहित परियोजना अघि बढाइएको उनले बताए।

करिब साढे दुई करोड रुपैयाँ लगानी भइसकेको यस केन्द्रमा दर्शकले सयभन्दा बढी प्रकारका चलचित्र हेर्न सक्नेछन्। यसले स्थानीय क्षेत्रमा आर्थिक गतिविधि बढाउनुका साथै बुटवल आउने पर्यटकलाई थप समय बिताउन आकर्षित गर्ने विश्वास भुसालले व्यक्त गरे। आगामी दिनमा प्रविधिमा आधारित थप गेमहरू समावेश गरी सेवा विस्तार गर्ने योजना रहेको पनि उनले जानकारी दिए।

अर्का सञ्चालक दीपक ढकालका अनुसार केन्द्रको मुख्य आकर्षण १८ डी प्लस मुभी थिएटर र मिरर मेज (भुलभुलैया) हुन्। १८ डी प्लस थिएटरमा चलचित्र हेर्दा पर्दामा देखिने घटनाक्रमअनुसार दर्शकले आफू पनि त्यही वातावरणमा प्रत्यक्ष सहभागी भएको अनुभूति गर्न सक्नेछन्।

साथै, चलचित्रमा देखाइने दृश्य र घटनाक्रमअनुसार फरक अनुभव लिन सकिने भएकाले यसले परम्परागत चलचित्र प्रदर्शनभन्दा भिन्न मनोरञ्जन प्रदान गर्ने ढकालको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *