`

सांसद साजिदाले बालेनलाई भनिन्-पत्रकार पक्रेर लाेकतन्त्र बलियाे हुँदैन

Nepal One HD १५ कार्तिक २०८३ १४:२३
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यममा प्रहरी परिचालन गर्ने कार्यको विरोध गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न बालेन सरकारलाई आग्रह गरेकी छन् ।

सरकारका कामकारबाहीमाथि प्रश्न उठाउने र कमजोरी सार्वजनिक गर्ने पत्रकारलाई पक्राउ गरेर लोकतन्त्र बलियो नहुने उनको भनाइ छ ।

पछिल्लो समय समाचार प्रकाशनकै विषयलाई लिएर पत्रकार पक्राउ गर्ने, सञ्चारगृहमा प्रहरी पुग्ने र समाचार कक्षमा हस्तक्षेप हुने घटनाले प्रेस स्वतन्त्रताको अवस्थामाथि गम्भीर प्रश्न उठाएको उनले बताएकी छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै सांसद सिद्धिकीले लोकतन्त्रमा सञ्चारमाध्यमलाई कमजोर बनाएर सुशासन र जवाफदेहिता कायम गर्न नसकिने उल्लेख गरेकी छन् ।

‘राज्यको चौथो अंगलाई पटक–पटक दबाब, धरपकड वा त्रासको वातावरणमा राखेर लोकतान्त्रिक शासन प्रणाली बलियो हुन सक्दैन,’ उनले लेखेकी छन्, ‘सरकारका कामको आलोचना हुनु, प्रश्न उठ्नु र कमजोरी सार्वजनिक हुनु लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो । आलोचनालाई शत्रुता ठान्ने होइन, सुधारको अवसरका रूपमा लिन सक्नुपर्छ।’

उनले प्रेस स्वतन्त्रताको नाममा पत्रकारलाई तथ्यहीन समाचार लेख्ने छुट नभएको स्पष्ट पार्दै समाचारप्रति असहमति भए कानुनी प्रक्रियाबाट समाधान खोज्नुपर्ने बताएकी छन् ।

प्रेस काउन्सिल तथा सम्बन्धित न्यायिक निकायमार्फत गुनासो सम्बोधन गर्न सकिने उनको भनाइ छ ।

‘कानुन कार्यान्वयनको नाममा प्रेसलाई भयभीत बनाउने वा सम्पादकीय स्वतन्त्रतामाथि अनुचित नियन्त्रण गर्ने अवस्था आउनु हुँदैन,’ उनले भनेकी छन् ।

सत्ता स्थायी नहुने भन्दै उनले आज सरकारमा रहेको पक्ष भोलि प्रतिपक्षमा पुग्न सक्ने स्मरण गराएकी छन् । प्रेस स्वतन्त्रताको संरक्षण कुनै दल विशेषको नभई सबैको साझा लोकतान्त्रिक हित भएको उनको तर्क छ ।

सांसद सिद्धिकीले पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा भएका हस्तक्षेपका घटनाको निष्पक्ष छानबिन गर्न र पक्राउ तथा खानतलासीको कानुनी आधार सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन् ।

‘सरकारलाई प्रश्न गर्नु अपराध होइन, लोकतन्त्रप्रतिको जिम्मेवारी हो,’ उनले भनेकी छन्, ‘हामीलाई नियन्त्रणमुखी शासन होइन, विधिको शासन चाहिएको हो । हामीलाई कमजोर प्रेस होइन, जिम्मेवार र स्वतन्त्र प्रेस चाहिएको हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *