अर्थमन्त्री वाग्ले जब भारत पुग्छन् तब नेपाल राष्ट्रविरुद्ध छाद्छन् : एमाले नेता बास्कोटा
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत पुग्नेबित्तिकै नेपाल राष्ट्रविरुद्ध अभिव्यक्ति दिने गरेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बास्कोटाले अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्। उनले वाग्लेले नेपाली राष्ट्रवाद र राष्ट्रिय हितबारे दिएको अभिव्यक्तिले आफ्नै बौद्धिक ज्ञानको टाट पल्टिएको देखाएको टिप्पणी गरेका छन्।
बास्कोटाले लेखेका छन्, ‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन् तब नेपाल राष्ट्रविरुद्ध छाद्छन्। नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो- त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रवाद र राष्ट्रिय हितसम्बन्धी राजनीतिक, कूटनीतिक, ऐतिहासिक रूपमा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाई हो।’
अर्थमन्त्री वाग्लेले शुक्रबार भारतीय टेलिभिजन एनडीटीभीको ‘वर्ल्ड टुर’ कार्यक्रममा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग संवाद गर्ने क्रममा नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोडेर बुझ्ने समय अब नरहेको बताएका थिए।
वाग्लेको उक्त अभिव्यक्तिपछि एमाले नेता बास्कोटाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन्। बास्कोटाले राष्ट्रवाद र राष्ट्रिय हितका विषयमा भारतमा पुगेर व्यक्त गरिने धारणालाई नेपालको राजनीतिक, कूटनीतिक तथा ऐतिहासिक दृष्टिकोणबाट हेर्नुपर्ने आशय व्यक्त गरेका छन्।
