पहिलो सन्तानको पर्खाइमा गायिका प्रविशा अधिकारी
काठमाडौं । नेपाली संगीत क्षेत्रकी लोकप्रिय गायिका प्रविशा अधिकारी पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा छिन्। गर्भवती रहेकी प्रविशा यतिबेला श्रीमान् निर्माण सिटौलासँग इटाली भ्रमणमा रमाइरहेकी छन्।
केही समयअघि सामाजिक सञ्जालमार्फत गर्भवती भएको खबर सार्वजनिक गरेकी प्रविशाले सन् २०२७ मा आफूहरू तीन जनाको परिवार बन्न लागेको जानकारी दिएकी थिइन्। उनले श्रीमान् निर्माणसँगका तस्बिर सार्वजनिक गर्दै खुसी साटेकी थिइन्।
इटाली भ्रमणका क्रममा खिचिएका प्रविशाका तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाएका छन्। उनका तस्बिरमा प्रशंसक तथा शुभचिन्तकले बधाई र शुभकामना व्यक्त गरिरहेका छन्।
‘द भ्वाइस किड्स’की कोचसमेत रहेकी प्रविशा र निर्माणले २०७८ साल मंसिरमा विवाह गरेका थिए। सुमधुर स्वरका कारण नेपाली संगीत क्षेत्रमा लोकप्रिय रहेकी प्रविशा पछिल्लो समयकी व्यस्त गायिकामध्ये एक हुन्। पहिलो सन्तानको आगमनको खबरसँगै उनलाई शुभकामना दिने क्रम जारी छ।
