कबड्डी-५ सुपरहिट भएको घोषणा
काठमाडौं । दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले प्रदर्शनको सुरुवाती दिनमै बक्स अफिसमा बलियो उपस्थिति देखाएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले प्रदर्शनमा आएको तीन दिनमै फिल्मलाई ‘सुपरहिट’ घोषणा गरेको छ।
क्यूएफएक्सको आधिकारिक वेबसाइटमा फिल्मलाई सुपरहिटको सूचीमा राखिएसँगै यसको व्यावसायिक सफलताबारे चर्चा चुलिएको छ। क्यूएफएक्सले आफ्ना हलमा पहिलो साताभित्र एक करोड ५० लाख रुपैयाँ र दुई साताभित्र दुई करोड ५० लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्ने फिल्मलाई सुपरहिट मान्ने गरेको विवरणका आधारमा ‘कबड्डी ५’ ले क्यूएफएक्सका हलबाट मात्रै डेढ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको अनुमान गरिएको छ।
फिल्मले प्रदर्शनअघि नै दर्शकमाझ उत्साह सिर्जना गरेको थियो। सफल ‘कबड्डी’ शृंखलाको नयाँ भाग भएकाले यसको अग्रिम टिकट बुकिङमा समेत दर्शकको उल्लेख्य आकर्षण देखिएको थियो। दसैँको अवसर पारेर तीन नेपाली फिल्म प्रदर्शनमा आए पनि ‘कबड्डी ५’ ले देशभर करिब २४० शो पाएको थियो।
शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले पहिलो दिनदेखि नै दर्शकको राम्रो साथ पाएको थियो। शनिबार विभिन्न हलमा शो हाउसफुल भएपछि यसको व्यापारिक सम्भावना थप बलियो देखिएको थियो। आइतबार पनि फिल्मप्रति दर्शकको आकर्षण कायम रहेको बताइएको छ।
फिल्ममा दयाहाङ राईसँगै मिरुना मगर, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ र माओत्से गुरुङलगायत कलाकारले अभिनय गरेका छन्। परिचित कलाकारहरूको उपस्थिति र लोकप्रिय फिल्म शृंखलाको निरन्तरताले पनि दर्शकमाझ फिल्मप्रति चासो बढाएको देखिन्छ।
बासुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मको निर्देशन रामबाबु गुरुङले गरेका हुन्। फिल्ममा निर्देशक गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) को लगानी रहेको छ।
प्रदर्शनको सुरुवाती तीन दिनमै क्यूएफएक्सबाट सुपरहिटको मान्यता पाएको ‘कबड्डी ५’ को आगामी व्यापार कस्तो रहन्छ भन्ने चासो बढेको छ। प्रारम्भिक प्रदर्शनमा देखिएको दर्शकको आकर्षण कायम रहेमा फिल्मले नेपाली बक्स अफिसमा थप उल्लेख्य कमाइ गर्ने अपेक्षा गरिएको छ।
