झापामा भारतीय फूल र प्लास्टिकका फूलमाथि प्रशासनको प्रतिबन्ध
काठमाडाैं । तिहार र छठको बजार छोप्दै आएका भारतीय फूल र प्लास्टिकका कृत्रिम फूलमाथि झापा प्रशासनले अंकुश लगाउने भएको छ । स्वदेशी किसानको उत्पादनले बजार नपाउने र अवैध आयातबाट स्थानीय व्यवसाय प्रभावित हुने गुनासोपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा निकायलाई निगरानी र नियन्त्रणका लागि निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सार्वजनिक सूचना जारी गर्दै गैरकानुनी रूपमा भित्रिने फूलको आयात रोक्न निर्देशन दिएका हुन् । प्लास्टिकबाट निर्मित कृत्रिम फूलको बिक्री, वितरण र भण्डारणमा पनि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ ।
खुला सीमाको फाइदा उठाउँदै तिहार र छठमा खपत हुने फूल भारतबाट अवैध रूपमा भित्रिने गरेका छन् । यसको प्रत्यक्ष मार स्थानीय फूल उत्पादक किसानले खेप्दै आएका थिए । यसपटक किसानहरूले सामूहिक रूपमा अवैध आयात रोक्न माग गरेपछि प्रशासनले कदम चालेको हो ।
प्रजिअ पोखरेलका अनुसार झापाकै उत्पादनले जिल्लाको माग धान्न सक्ने अवस्था छ । उनले चाडपर्वमा स्वदेशी सयपत्री र मखमली फूल प्रयोग गरी स्थानीय किसानलाई प्रोत्साहन गर्न जिल्लावासीसँग आग्रह गरेका छन् ।
मेचीनगर, बिर्तामोड, दमक, शिवसताक्षी, कनकाई र बुद्धशान्तिलगायतका पालिकामा दर्जनौँ किसानले व्यावसायिक फूलखेती गरेका छन् । स्थानीय उत्पादन पर्याप्त हुने अनुमान गरिए पनि अवैध आयात नियन्त्रण प्रभावकारी हुन्छ कि हुँदैन भन्ने मुख्य चुनौती छ ।
मेचीनगर-४ का नीलकण्ठ तिवारीले प्रशासनको कदमले स्थानीय किसानले उत्पादनको उचित मूल्य पाउने अपेक्षा व्यक्त गरेका छन् ।
