`

टोरन्टोमा पहिलोपटक गुञ्जिँदै १९७४ एडी

Nepal One HD १९ कार्तिक २०८३ १४:२८
मनोरञ्जन
काठमाडौं । नेपाली रक संगीतमा छुट्टै पहिचान बनाएको लोकप्रिय ब्यान्ड १९७४ एडी पहिलोपटक क्यानडाको टोरन्टोमा गुञ्जिने भएको छ । ‘परेलीमा’, ‘सम्बोधन’ र ‘पहिलो जुनीमा’ जस्ता सदाबहार गीतमार्फत नेपाली संगीतप्रेमीको मन जितेको ब्यान्डले आगामी नोभेम्बर ६ मा टोरन्टोस्थित क्विन एलिजाबेथ थिएटरमा विशेष प्रस्तुति दिने भएको हो ।

नेपालमा मात्र नभई विदेशमा रहेका नेपालीमाझ समेत उत्तिकै लोकप्रिय १९७४ एडीको यो पहिलो टोरन्टो प्रस्तुति त्यहाँ रहेका नेपालीका लागि विशेष बन्ने अपेक्षा गरिएको छ । लामो समयदेखि ब्यान्डका गीत सुन्दै आएका नेपालीले आफ्नै देशको संगीत र सांगीतिक सम्झनासँग जोडिने अवसर पाउनेछन् ।

ब्यान्डका संस्थापक निराकार याक्थुम्बाले क्यानडामा हुन लागेको पहिलो सांगीतिक कार्यक्रम आफूहरूका लागि महत्त्वपूर्ण रहेको बताएका छन् । विदेशमा रहँदा आफ्नो देशको सम्झना दिलाउने माध्यममध्ये संगीत पनि एक भएको उनको भनाइ छ ।

‘क्यानडाको यो पहिलो सांगीतिक प्रस्तुति हाम्रो लागि एकदमै महत्त्वपूर्ण अवसर हुनेछ,’ उनले भने, ‘नेपालमा मात्रै होइन, विदेशमा रहेका नेपालीमाझ पनि १९७४ एडीका गीतले उत्तिकै माया पाउँदै आएका छन् ।’

त्यस्तै, गायक एड्रियन प्रधानका अनुसार अध्ययन र रोजगारीका लागि विदेश पुगेका नेपालीसँग ब्यान्डका गीतको भावनात्मक सम्बन्ध छ । परदेशमा रहँदा आफ्नै देश, साथीभाइ र पुराना दिनको सम्झना गराउन गीतले भूमिका खेल्ने गरेको उनले बताए ।

ब्यान्डका सदस्य फिरोज स्याङ्देनले पनि टोरन्टोको कार्यक्रमले पुराना सांगीतिक सम्झना ताजा बनाउने बताए । १९७४ एडीका गीत सुनेर हुर्किएको पुस्तादेखि नयाँ पुस्ताका श्रोतासम्मलाई एउटै मञ्चमा जोड्ने अवसरका रूपमा उनले यसलाई लिएका छन् ।

तर, यसपटकको सांगीतिक यात्रा मनोरञ्जनमा मात्रै सीमित रहने छैन । नेपालमा बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यसमेत कार्यक्रमसँग जोडिएको छ । ब्यान्डका म्यानेजर अनुज केसीका अनुसार बिक्री हुने प्रत्येक टिकटबाट तीन क्यानेडियन डलर बाढीपीडितको राहतका लागि छुट्याइनेछ ।

केसीले यसलाई सांगीतिक प्रस्तुतिसँगै सामाजिक जिम्मेवारी निर्वाह गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन् । विदेशमा बसेर पनि आफ्नो देशका लागि केही गर्न चाहने नेपालीलाई यस्ता कार्यक्रमले सहयोग गर्ने अवसर दिने उनको भनाइ छ ।

यसअघि अस्ट्रेलियामा भएका प्रस्तुतिबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाइएको र त्यसको विवरण चाँडै सार्वजनिक गरिने केसीले बताएका छन् ।

साथै, पछिल्लो समय अध्ययन, रोजगारी र विभिन्न अवसरको खोजीमा क्यानडा पुग्ने नेपालीको संख्या बढ्दै गएको छ । यस्तो अवस्थामा नेपाली कलाकारको प्रस्तुतिले त्यहाँ रहेका नेपाली समुदायलाई एकै ठाउँमा भेला हुने र आफ्नो भाषा, संस्कृति तथा सांगीतिक पहिचानसँग जोडिने अवसर दिने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *