भाेटेकाेशी-त्रिशूली बाढीपीडितलाई एमालेको भोलेन्टियर्स फोर्सले बनाउँदैछ ४० घर
काठमाडौं । नेकपा एमालेको नेशनल भोलेन्टियर्स फोर्सले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित परिवारका लागि नुवाकोटमा ४० वटा घर निर्माण सुरु गरेको छ।
फोर्सले विदुर नगरपालिका–३ मैरिटारमा बुधबारदेखि घर निर्माणको काम थालेको हो। घर निर्माणका लागि आवश्यक स्काभेटर, इँटालगायत निर्माण सामग्रीसमेत निर्माणस्थलमा पुर्याइएको छ।
फोर्सका प्रमुख पुष्पराज श्रेष्ठसहितको सहभागितामा घर निर्माण कार्य सुरु गरिएको हो। बाढीबाट प्रभावित परिवारलाई पुनःस्थापित गर्ने उद्देश्यले घर निर्माण अघि बढाइएको फोर्सका प्रमुख श्रेष्ठले बताए ।
यसअघि नेशनल भोलेन्टियर्स फोर्सले नुवाकोटको विदुरमा बाढी प्रभावितहरूलाई एक महिनासम्म निःशुल्क खाना खुवाएको थियो। बाढी प्रभावितलाई राहत तथा सहयोग उपलब्ध गराउँदै आएको श्रेष्ठ नेतृत्वको फोर्स स्वयंसेवी संगठनका रूपमा क्रियाशील छ।
४० वटा घर निर्माण सम्पन्न भएपछि बाढीबाट प्रभावित परिवारलाई आवासको व्यवस्था गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
