आठ दिनदेखि आमरण अनशनमा डा. केसी, स्वास्थ्य बिग्रिँदा चिकित्सक संघले सरकारलाई दियो दबाब
काठमाडौं । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि नेपाल चिकित्सक संघले उनको जीवनरक्षाका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ ।
संघले बिहीबार विज्ञप्ति जारी गर्दै आठ दिनदेखि २५औँ आमरण अनशनमा रहेका डा. केसीका माग सम्बोधन गरी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको हो । स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेकाले ढिलाइ नगरी वार्ताको वातावरण बनाउन संघले आग्रह गरेको छ ।
डा. केसीले उठाएका मागलाई बेवास्ता नगर्न र संवादमार्फत निकास खोज्न पनि संघले सरकारलाई भनेको छ ।
यसैबीच, संघले शुक्रबार दिउँसो १ बजे प्रदर्शनीमार्गस्थित केन्द्रीय कार्यालयमा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा संघका पूर्वअध्यक्ष, पूर्वमहासचिव, विशेषज्ञ चिकित्सक, अस्पताल निर्देशक तथा आवासीय चिकित्सक सहभागी हुने जनाइएको छ ।
इलामबाट २५औँ पटक आमरण अनशन सुरु गरेका डा. केसी हाल काठमाडौंमा उपचाररत छन् । उनको स्वास्थ्य अवस्था थप जटिल बन्नुअघि नै सरकारले माग सम्बोधन र वार्ताका लागि पहल गर्नुपर्ने चिकित्सक संघको जोड छ ।
