`

अन्यायपूर्वक पदबाट हटाइएको दाबी गर्दै दानबहादुरले दिए रिट

Nepal One HD २० कार्तिक २०८३ १३:३३
राजनीति

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।

आफूलाई अन्यायपूर्वक पदबाट हटाइएको दाबीसहित उनले वारेशमार्फत सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन् ।

कार्कीका कानुन व्यवसायी टिकाबहादुर कुँवरका अनुसार बिहीबार बिहान साढे १० बजे नै रिट सर्वोच्चमा बुझाइएको हो । तर, अदालतको प्रशासनले निवेदन अध्ययन गरिरहेकाले अहिलेसम्म दर्ता भएको छैन ।

‘हामीले आज बिहान साढे १० बजे नै रिट पेस गरेका हौँ । अहिले अध्ययनको क्रममा छ, बेलुकासम्म दर्ता होला,’ कुँवरले जनआस्थासँग भने ।

बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाउँदै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गरेको थियो । सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीसमेत दिएको छ ।

सरकारको निर्णयलगत्तै नयाँ आईजीपी केसीले पदभार ग्रहण गरिसकेका छन् । तर, पदबाट हटाउने निर्णयलाई चुनौती दिँदै कार्की अदालत पुगेपछि प्रहरी नेतृत्व परिवर्तनको विवाद अब न्यायिक परीक्षणमा पुगेको छ ।

सर्वोच्चले रिट दर्ता गर्ने वा नगर्ने भन्ने निर्णयसँगै सरकारको निर्णयविरुद्ध कार्कीले थालेको कानुनी लडाइँले कुन मोड लिन्छ भन्ने चासो बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *