कांग्रेस सभापति गगन थापा पक्राउको हल्ला !
काठमाडौं। कांग्रेस सभापति गगनकुमार थापा पक्राउ पर्ने हुन् कि भन्ने चर्चाले कांग्रेसभित्र तरंग पैदा गरेको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) फेरिएलगत्तै थापामाथि प्रहरी निगरानी बढाइएको र तिहारअघि केही नेताहरू पक्राउ पर्न सक्ने चर्चाले राजनीतिक वृत्तमा हलचल मच्चिएको हो ।
थापाको सचिवालयले उनको निवास, सम्पर्क कार्यालय र सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय आसपास सादा पोसाकका प्रहरी तथा मोटरसाइकलमा सवार व्यक्तिहरूले निगरानी गरिरहेको दाबी गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) नेतृत्वको सरकार र प्रमुख प्रतिपक्षी कांग्रेसबीच टकराव बढिरहेका बेला पक्राउको चर्चाले थप संशय जन्माएको छ । पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी प्रवेश गरेको घटनामा सभापति थापाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै कडा आलोचना गरेपछि राजनीतिक दूरी झन् बढेको थियो ।
इनम सापकोटा प्रकरणमा कांग्रेसको आधिकारिकतासम्बन्धी भनिएको बयान सार्वजनिक भएपछि पनि कांग्रेस सरकारप्रति थप आक्रामक बनेको थियो ।
तर, प्रहरी निकायले भने सभापति थापामाथि निगरानी राख्न वा पक्राउ गर्न कुनै आधिकारिक निर्देशन नभएको जनाएको छ । यसले पक्राउको चर्चा र सचिवालयको दाबीबीच थप अन्योल सिर्जना गरेको छ ।
सरकारको आलोचना गरेकै कारण गगनमाथि दबाब सिर्जना गर्न खोजिएको हो कि पक्राउको हल्ला फैलाएर कांग्रेसलाई तर्साउन खोजिएको हो ? आईजीपी परिवर्तनसँगै उठेको यो प्रश्नले सानेपादेखि सिंहदरबारसम्म राजनीतिक चासो बढाएको छ ।
