गगन पक्राउको हल्लाबीच सहमहामन्त्रीलाई साइबर ब्युरोको फोन, जवाफ – ‘हत्कडी लिएर आउनुस् !’
काठमाडौं। कांग्रेस सभापति गगनकुमार थापा पक्राउ पर्न सक्ने चर्चाले पार्टीभित्र खैलाबैला मच्चिरहेका बेला अर्का नेता प्रहरीको सम्पर्कमा तानिएका छन् ।
कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले उपस्थित हुन फोन गरेपछि कांग्रेस वृत्तमा थप तरंग पैदा भएको छ ।
थापाको निवास, सम्पर्क कार्यालय र सानेपास्थित पार्टी मुख्यालय आसपास सादा पोसाकका मानिसले निगरानी गरिरहेको सचिवालयको दाबीसँगै तिहारअघि केही नेता पक्राउ पर्न सक्ने चर्चासमेत चलिरहेको छ । प्रहरीले भने गगन थापामाथि निगरानी वा पक्राउको कुनै आधिकारिक निर्देशन नरहेको जनाएको छ ।
यही राजनीतिक तनावबीच धार्मिक यात्राका क्रममा काठमाडौं बाहिर रहेका शिवाकोटीलाई साइबर ब्युरोले फोन गरेको हो । ब्युरोमा उपस्थित हुन भनिएपछि उनले आफू काठमाडौं फर्किंदै गरेको र उपस्थित हुने बताएका छन् ।
प्रहरीसँगको सम्पर्कबारे आक्रोश व्यक्त गर्दै उनले आफूलाई खोज्न प्रहरी परिचालन गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । सम्पर्क हुन नसकेपछि चिनजानका व्यक्तिमार्फत खबर पठाइएको उल्लेख गर्दै उनले आवश्यक परे हत्कडी लिएर आउनसमेत चुनौती दिएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु।’
साइबर ब्युरो स्रोतका अनुसार पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा शिवाकोटीलाई बोलाइएको हो । खड्कासम्बन्धी विषयमा उनले सामाजिक सञ्जालमा टिप्पणी गर्दै प्रतिपक्षले उठाएका प्रश्नको सरकारले जिम्मेवार ढंगले जवाफ दिनुपर्ने बताएका थिए ।
त्यसैगरी, बिचौलियाको आरोप लागेका इनम सापकोटा प्रहरी हिरासतमा रहँदा दिएको भनिएको बयानको अडियो रेकर्डबारे पनि शिवाकोटीले सार्वजनिक टिप्पणी गरेका थिए ।
सभापति थापामाथि निगरानीको चर्चा र सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोको बोलावट एकै समयमा बाहिरिएपछि कांग्रेसमा सरकारको कदमलाई लिएर आशंका बढेको छ।
