`

गगन पक्राउको हल्लाबीच बसेको पदाधिकारी बैठक, इनमको अडिओले कांग्रेसमा खैलाबैला

Nepal One HD २० कार्तिक २०८३ १४:४३
नेपाली कांग्रेस

काठमाडौं । बिचौलिया भनिएका इनम सापकोटाको नाममा सार्वजनिक अडिओ र बयानले नेपाली कांग्रेसभित्र हलचल मच्चाएको छ ।

पार्टीको आधिकारिकता विवादसँग जोडिएको १८ करोड रुपैयाँको कथित लेनदेनमा सभापति गगन थापाको नामसमेत मुछिएपछि कांग्रेसले यसलाई राजनीतिक प्रतिशोधको विषय बनाएको छ ।

यही प्रकरणलाई आधार बनाएर सरकारले थापालाई पक्राउ गर्न खोजेको चर्चा चलेपछि कांग्रेसले राजनीतिक र कानुनी प्रतिवादको तयारी थालेको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले आज दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएको छ ।

सहमहामन्त्री रामहरि खतिवडाले सभापति थापालाई पक्राउ गर्ने कुनै आधार नरहेको दाबी गरेका छन् । कांग्रेसको आवाज कमजोर बनाउन सरकारले पक्राउको हल्ला फैलाएको उनको आरोप छ ।

‘सभापति थापालाई पक्राउ गर्ने कुनै आधार छैन । कांग्रेसको आवाज कमजोर बनाउन पक्राउको अफवाह फैलाइएको हो,’ खतिवडाले भने । पञ्चायत र राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको कांग्रेस सरकारको धम्कीबाट नतर्सिने उनको दाबी छ ।

यसअघि बुधबार बसेको पदाधिकारी बैठकले सरकारका गतिविधिबारे ६ बुँदे धारणा सार्वजनिक गर्दै गलत कदमविरुद्ध संघर्ष गर्ने चेतावनी दिएको थियो । आजको बैठकमा पनि सरकारका पछिल्ला निर्णय र पार्टीमाथि लगाइएका आरोपबारे छलफल हुने बताइएको छ ।

महामन्त्री उदयशमशेर राणाले सभापति थापामाथि प्रतिशोधपूर्ण कदम चालिए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । ललितपुरको बज्रबाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले इनम सापकोटाको भनिएको बयानलाई आधार बनाएर थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गरे ।

‘सभापति थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन । त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौं,’ राणाले भने ।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई एकजुट हुन आह्वान गर्दै सरकारको कदमविरुद्ध सशक्त प्रतिवाद गर्ने बताएका छन् ।

सहमहामन्त्री अजयबाबु शिवाकोटीले पनि आफू र सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गरेका छन् । यही प्रकरणमा साइबर ब्युरोले शिवाकोटीलाई सोधपुछका लागि बोलाएको छ । उनले १८ करोडको विवादलाई बहाना बनाएर प्रधानमन्त्री र उनका सल्लाहकार कुमार बेनले आफूहरूलाई निशाना बनाएको आरोप लगाएका छन् ।

शिवाकोटीले इनम सापकोटा प्रधानमन्त्री बालेन्द्र शाहलाई चुनाव जिताउन खटिएका रणनीतिकार तथा अनुसन्धानकर्ता रहेको दाबीसमेत गरेका छन्

कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले १८ करोड रुपैयाँको प्रकरणमा पार्टीमाथि उठेका जुनसुकै प्रश्नको सामना गर्न र निष्पक्ष छानबिन स्वीकार गर्न तयार रहेको बताएका छन् ।

सार्वजनिक अडिओ, बयान र आरोपबारे स्वतन्त्र, निष्पक्ष तथा विधिसम्मत अनुसन्धान हुनुपर्ने उनको माग छ । पार्टीको आधिकारिकता र नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले नियोजित प्रचार गरिएको कांग्रेसको दाबी छ ।

शर्माले बिचौलिया सापकोटाको मोबाइल प्रहरीले बरामद गरेपछि प्रधानमन्त्रीका सल्लाहकारको घरमा पुगेको भनिएको विषयमा पनि प्रश्न उठाएका छन् । अनुसन्धानका लागि नियन्त्रणमा लिइएको मोबाइल त्यहाँ कसरी पुग्यो र त्यसमा रहेको के मेटाउनुपर्ने थियो भन्ने उनको प्रश्न छ ।

सरकारको नियन्त्रणमा रहेका व्यक्तिबाट आफूअनुकूल बयान रेकर्ड गराएर अडिओ सार्वजनिक गरिएको हुन सक्ने आशंका पनि शर्माले व्यक्त गरेका छन् । अनुसन्धानका क्रममा रहेका व्यक्ति र प्रमाणमाथि अनधिकृत पहुँच तथा हस्तक्षेप भएको हो भने त्यसको निष्पक्ष छानबिन हुनुपर्ने कांग्रेसको माग छ ।

महामन्त्री प्रदीप पौडेलले पनि सरकार स्वेच्छाचारी र निरंकुश बन्दै गएको आरोप लगाएका छन् । पत्रकारमाथिको धरपकड, प्रेस नियन्त्रण र संवैधानिक निकायमाथिको हस्तक्षेपले सरकारको अलोकतान्त्रिक चरित्र देखाएको उनको भनाइ छ ।

पौडेलका अनुसार पार्टीलाई बदनाम गर्ने प्रयासविरुद्ध कांग्रेस राजनीतिक र कानुनी दुवै मोर्चाबाट अघि बढ्नेछ । आवश्यक कानुनी परामर्शका लागि उपसभापति पुष्पा भुसालको नेतृत्वमा प्रक्रिया अघि बढाउने र संसद्मा पहलकदमी लिन नेता भीष्मराज आङ्देम्बेको नेतृत्वमा पहल गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ ।

यसैबीच, कांग्रेसले निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णयको पनि विरोध गरेको छ ।

यो विवादले प्रधानमन्त्री बालेन शाह र कांग्रेस सभापति गगन थापाबीचको सामाजिक सञ्जालको टकरावलाई पनि थप चर्चामा ल्याएको छ । प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जालमा ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै चेतावनी दिएका थिए ।

त्यसको जवाफमा सोमबार थापाले आफूलाई तर्साउन धेरै आए पनि तर्सिने बानी नपरेको टिप्पणी गरेका थिए । उनले लेखेका थिए, ‘अहिले ठीक १८ः०० बजेको छ । तर्साउने धेरै आए, तर्सिने बानी परेन ।’

इनम सापकोटाको भनिएको अडिओ र बयानको आधिकारिकता, त्यसमा उल्लेखित लेनदेनको सत्यता तथा सभापति थापामाथि अनुसन्धान अघि बढ्ने वा नबढ्ने विषय अझै स्पष्ट भइसकेको छैन । तर पक्राउको चर्चासँगै कांग्रेसको प्रतिवाद र सरकारसँगको राजनीतिक टकराव थप चर्किने संकेत देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *