`

पर्यटन बोर्डको सीईओका लागि १६ जना सर्टलिस्टमा

Nepal One HD २१ कार्तिक २०८३ १४:२०
पर्यटन
काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन् ।

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्यांकन गरी सबैभन्दा बढी अंक प्राप्त गर्ने १६ जनालाई सर्टलिस्टमा राखिएको हो ।

छनोट उपसमितिले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार सर्टलिस्टमा परेका उम्मेदवारहरूको नाम वर्णानुक्रमअनुसार राखिएको छ ।

सर्टलिस्टमा आशुतोष प्रधान, उत्तमप्रसाद देवकोटा, टेकबहादुर महत, धर्मराज दवाडी, नोजल कोइराला, युविका भण्डारी, राजाराम केसी र रामचन्द्र सेढाईं रहेका छन् ।

त्यस्तै रोहिणीप्रसाद खनाल, लक्ष्मण गौतम, विनोद अर्याल, श्रद्धा श्रेष्ठ, श्रीप्रसाद भट्टराई, सन्तोष विक्रम थापा, सुरेश सिंह बुडाल र हिकमत सिंह ऐर पनि सूचीमा परेका छन् ।

छनोट उपसमितिले सर्टलिस्टमा परेका उम्मेदवारलाई आगामी मंसिर १० गते बिहान ८ः१५ बजे शैक्षिक योग्यता तथा कार्यअनुभवका सक्कल कागजातसहित पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुन भनेको छ । उनीहरूले सोही दिन आफ्नो कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ ।

उम्मेदवारहरूको प्रस्तुतीकरण र मूल्यांकनपछि उत्कृष्ट तीन जनाको नाम नियुक्तिका लागि सिफारिस गरिनेछ । तीमध्येबाट नेपाल पर्यटन बोर्डको सञ्चालक समितिले एक जनालाई कार्यकारी प्रमुख नियुक्त गर्नेछ ।

नेपाल पर्यटन बोर्डको सीईओ पद गत वैशाखदेखि रिक्त छ । तत्कालीन सीईओ दीपकराज जोशी पदमुक्त भएपछि बोर्ड निमित्त नेतृत्वका भरमा सञ्चालन हुँदै आएको छ ।

यसअघि सीईओ पदका लागि ४२ जनाले आवेदन दिएका थिए । साथै, आवेदन परेको लामो समयपछि १६ जनाको संक्षिप्त सूची सार्वजनिक भएको हो । अब प्रस्तुतीकरण र मूल्यांकनपछि नियुक्ति प्रक्रिया थप अघि बढ्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *