सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजारभन्दा बढी पर्यटक
काठमाडौं । सन् २०२६ को सेप्टेम्बरमा हवाईमार्ग हुँदै ८८ हजार २४८ विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार यो संख्या गत वर्षको सोही महिनाको तुलनामा १२.११ प्रतिशत बढी हो।
सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल आएका थिए। यसपटक दक्षिण एसिया र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्या बढेको छ।
सार्क मुलुकबाट मात्रै ३० हजार ८५ पर्यटक आएका छन्। कुल आगमनमा यो हिस्सा ३४.०९ प्रतिशत हो। सार्कबाट सबैभन्दा धेरै भारतका १७ हजार ४२५ पर्यटक आएका छन्। श्रीलंकाबाट ७ हजार १०८, बंगलादेशबाट ३ हजार ९६४, भुटानबाट १ हजार १११, पाकिस्तानबाट ४२९, माल्दिभ्सबाट ४८ र अफगानिस्तानबाट ८ जना आएका छन्।
त्यस्तै, सार्क एसियाली मुलुकबाट १९ हजार ८८८ पर्यटक आएका छन्। यो गत वर्षको तुलनामा ५७.९७ प्रतिशत बढी हो। चीनबाट मात्रै ११ हजार २१२ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको ५ हजार २३७ को तुलनामा ११४.०९ प्रतिशत वृद्धि हो।
एसियाली बजारमा जापानबाट २ हजार ६६, मलेसियाबाट १ हजार ८७७, दक्षिण कोरियाबाट १ हजार ४१२ र सिंगापुरबाट ८०७ पर्यटक आएका छन्।
युरोपबाट भने १५ हजार १४८ पर्यटक आएका छन्। यो गत वर्षको तुलनामा ८.७३ प्रतिशत कम हो। युरोपेली मुलुकमा जर्मनीबाट १ हजार ९७४, फ्रान्सबाट १ हजार ३८९, रुसबाट १ हजार १४३ र स्पेनबाट १ हजार १२० पर्यटक आएका छन्।
अमेरिकी महादेशबाट १० हजार १०७ पर्यटक आएका छन्। यसमध्ये अमेरिकाबाट ८ हजार २९९ र क्यानडाबाट १ हजार २२४ जना छन्।
ओसिएनिया क्षेत्रबाट ५ हजार ४२२ पर्यटक आएका छन्। अस्ट्रेलियाबाट ४ हजार ८४२ र न्युजिल्यान्डबाट ५८० जना आएका छन्।
साथै, मध्यपूर्वबाट २ हजार ६०६ पर्यटक नेपाल आएका छन्। अफ्रिकी मुलुकबाट ४२४ र अन्य विभिन्न मुलुकबाट ४ हजार ५६८ पर्यटक आएको तथ्यांकमा उल्लेख छ।
नेपाल पर्यटन बोर्डले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनसँगै हवाई सम्पर्क विस्तारमा समेत जोड दिइरहेको छ। सेप्टेम्बरमै पोखरा र दुबईबीच दैनिक सिधा उडान सुरु भएको बोर्डले जनाएको छ।
