`

पर्यटन प्रवर्द्धनलाई तीव्रता दिइएको प्रधानमन्त्रीको दाबी

Nepal One HD ३१ असार २०८३ १४:५८
पर्यटन

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले नेपालको पर्यटन प्रवर्द्धनलाई तीव्र गतिमा अघि बढाएको दाबी गर्दै होटल व्यवसायीमा देखिएको अन्योल र चिन्ता अन्त्य हुने बताएका छन्।

उनले निजी क्षेत्रलाई पर्यटन विकासको महत्वपूर्ण साझेदारका रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको पनि बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा होटल एसोसिएसन नेपाल (हान)का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले व्यवसायीलाई कानुनको पालना गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गरे। उनले साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमार्फत पर्यटन क्षेत्रमा सहकार्यका सम्भावनाबारे अध्ययन गर्न सुझाव दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा भएको छलफलमा हानका प्रतिनिधिले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता रहेको जानकारी गराएका थिए। तर हाल वार्षिक करिब १२ लाख पर्यटक मात्र नेपाल आउने गरेको उल्लेख गर्दै पर्यटक संख्या बढे होटल उद्योगले रोजगारी सिर्जना र वैदेशिक रोजगारी न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताएका छन्।

व्यवसायीहरूले नेपालमा आरोग्य पर्यटन, गन्तव्य विवाह (डेस्टिनेसन वेडिङ) र सीमापार (क्रस–बोर्डर) पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै सरकारसमक्ष विभिन्न नीतिगत सुधारका प्रस्ताव पनि राखेका छन्।

उनीहरूले होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत उपलब्ध गराउन, २५ शय्यासम्मका होटलका लागि अनिवार्य गरिएको संक्षिप्त वातावरणीय मूल्यांकनको सीमा ५० शय्यासम्म पुर्‍याउन तथा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरेका छन्।

यसैगरी नेपाल वायुसेवा निगमको सेवा सुधार, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५ अन्तर्गत ट्रेडमार्क प्रयोगसम्बन्धी रोयल्टीको व्यवस्थामा संशोधन, होटल व्यवसायसँग सम्बन्धित कानुन पुनरावलोकन तथा डेस्टिनेसन वेडिङका लागि आवश्यक गरगहनाको आयात प्रक्रिया सहज बनाउन पनि सरकारसँग आग्रह गरिएको छ।

आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि प्रचार सामग्रीलाई केवल फोटो र भिडियोमा सीमित नराखी पूर्ण कथा (स्टोरीटेलिङ)मा आधारित सामग्री तथा विज्ञहरूको सहभागितासहितको प्याकेज तयार गर्नुपर्ने सुझाव पनि व्यवसायीहरूले दिएका छन्।

छलफलमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य जयदिन श्रेष्ठ, आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महत सहभागी थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *