`

धुलाम्मे मैदानबाट आधुनिक फुटबल हब बन्दै पेप्सीकोला

Nepal One HD ४ साउन २०८३ ११:५३
खेलकुद

काठमाडौं। वर्षौंदेखि धुलाम्मे, असमान र अव्यवस्थित अवस्थामा रहेको पेप्सीकोला फुटबल मैदान अब आधुनिक कृत्रिम घाँसे मैदानमा रूपान्तरण हुँदैछ। काठमाडौं महानगरपालिकाको लगानीमा निर्माण भइरहेको ११ ‘ए’ साइडको अत्याधुनिक मैदान अहिले अन्तिम चरणमा पुगेको छ। कार्पेट बिछ्याउने काम सकिएको छ भने अब बालुवा भर्ने काम बाँकी रहेको छ।

काठमाडौं महानगरपालिका–३२ स्थित यस मैदानमा अहिले निर्माणको गति तीव्र छ। महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इन्जिनियर अर्जुन अर्यालका अनुसार मैदानको अधिकांश संरचनागत काम सम्पन्न भइसकेको छ र अबको करिब दुई महिनाभित्र सम्पूर्ण निर्माण कार्य सकिने अपेक्षा गरिएको छ।

उनका अनुसार कृत्रिम घाँसमाथि विशेष प्रकारको बालुवा हाल्ने काम बाँकी छ। चिसो मौसमका कारण यो प्रक्रिया केही समय लाग्ने भए पनि सम्झौताअनुसार मंसिरभित्र निर्माण सम्पन्न हुनेछ।

कृत्रिम घाँसे मैदानमा बालुवा राख्नु केवल औपचारिक प्रक्रिया मात्र होइन। यसले मैदानको गुणस्तर र टिकाउपनलाई प्रत्यक्ष प्रभाव पार्छ। प्लास्टिक फाइबरबाट बनेको कृत्रिम घाँसलाई सीधा र स्थिर राख्न बालुवाले महत्वपूर्ण भूमिका खेल्छ। यसले घाँस चाउरिन वा उखेलिन नदिई लामो समयसम्म प्रयोगयोग्य बनाउँछ।

त्यति मात्र होइन, बालुवाको तहले मैदानलाई नरम बनाउने भएकाले खेलाडी दौडिँदा वा लड्दा चोट लाग्ने जोखिम कम हुन्छ। साथै बलको गति र उफ्राइ प्राकृतिक घाँसजस्तै हुने भएकाले खेलको गुणस्तर पनि उच्च रहन्छ।

वर्षायाममा पानी जम्ने समस्या समाधान गर्न मैदानमा आधुनिक ड्रेनेज प्रणाली निर्माण भइरहेको छ। पानी सहज रूपमा बाहिर निस्कने व्यवस्था मिलाइने भएकाले वर्षाको समयमा पनि खेल सञ्चालन गर्न सहज हुनेछ। मैदानको वरिपरि खेलाडी र दर्शकको आवतजावतलाई व्यवस्थित बनाउन फुट ट्र्याकसमेत निर्माण गरिनेछ।

महानगरपालिकाले काठमाडौंभित्र आधुनिक खेल पूर्वाधार विस्तार गर्ने योजनाअन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा यो परियोजना अघि बढाएको हो। पेप्सीकोला मात्र होइन, बाँसबारी, नयाँबजारको सोसल ग्राउण्ड, बल्खुको बागमती करिडोर, चाबहिलको गणेशथानलगायत काठमाडौंका ६ स्थानमा कृत्रिम घाँसे फुटबल मैदान निर्माण भइरहेको छ।

यी सबै मैदानको स्तरोन्नति तथा निर्माणको जिम्मा जेएसएस/एसएम जेभी, ज्ञानेश्वरले ६ करोड ८० लाख रुपैयाँमा लिएको हो। निर्माण सम्पन्न भएपछि काठमाडौंका स्थानीय खेलाडी, क्लब तथा फुटबल प्रशिक्षणका लागि आधुनिक र सुरक्षित अभ्यासस्थल उपलब्ध हुने अपेक्षा गरिएको छ।

पेप्सीकोला मैदानको स्तरोन्नतिसँगै लामो समयदेखि धुलो, हिलो र अव्यवस्थित अवस्थाबाट प्रभावित स्थानीय खेलाडीहरूले अब अन्तर्राष्ट्रिय मापदण्ड नजिकको सुविधायुक्त मैदानमा अभ्यास र प्रतियोगिता खेल्न पाउनेछन्। महानगरपालिकाको यो परियोजनालाई काठमाडौंमा खेल पूर्वाधार विकासतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *