`

अन्तर्राष्ट्रिय कुस्तीमा भारतका मिश्रले जिते उपाधि

Nepal One HD ७ कार्तिक २०८३ १३:५०
खेलकुद

काठमाडौं। रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० स्थित सागरहवा रोहिणी नदी किनारमा आयोजित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतको मध्यप्रदेशका रामकान्त मिश्रले जितेका छन्।

विजयादशमी महोत्सव २०८३ को अवसरमा संगम सहारा युवा क्लबले आयोजना गरेको प्रतियोगितामा रुपन्देहीका धर्मेन्द्र यादव दोस्रो र गुल्मी घर भई रुपन्देहीमा बसोबास गर्दै आएका विशाल थापा तेस्रो स्थानमा रहे। दुई दिनसम्म चलेको प्रतियोगितामा नेपाल र भारतका ४४ जना पहलमानले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका मिश्रले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। दोस्रो भएका यादवलाई ३१ हजार र तेस्रो स्थानमा रहेका थापालाई २१ हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ।

क्लबका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक चन्दन चौधरीका अनुसार विजयी पहलमानहरूलाई तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरी र क्लबका अध्यक्ष कन्हाई थारूलगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितामा भारतको अयोध्या, गोरखपुर, बिहार र मध्यप्रदेशलगायत क्षेत्रका पहलमान सहभागी भएका थिए। नेपालतर्फ रुपन्देही, नवलपरासी र गुल्मीलगायत जिल्लाका पहलमानले प्रतिस्पर्धामा भाग लिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *