कारागारमा हुँदा गरेको भाकल पूरा गर्न भारत जान लागेको हुँ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा निस्किएका छन्। उनी पत्नी निकिता लामिछानेसहित शुक्रबार बिहान हवाईमार्गबाट धनगढी पुगेका हुन्।
धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफ्नो भारत भ्रमण पूर्णतः व्यक्तिगत रहेको स्पष्ट पारे। उनले भ्रमणलाई राजनीतिक गतिविधिसँग जोडेर अनावश्यक अड्कलबाजी नगर्न आग्रह गरे।
लामिछानेका अनुसार उनी भारतको उत्तराखण्डस्थित प्रसिद्ध धार्मिक स्थल कैँचीधाम जान लागेका हुन्। कारागारमा रहँदा उक्त धाम पुग्ने भाकल गरेको र अहिले त्यही प्रतिबद्धता पूरा गर्न भ्रमणमा निस्किएको उनले बताए।
धार्मिक आस्था र पारिवारिक आध्यात्मिक पृष्ठभूमिका कारण कैँचीधाम जाने इच्छा पहिलेदेखि नै रहेको उल्लेख गर्दै उनले यस भ्रमणमा कुनै राजनीतिक भेटघाटको कार्यक्रम नरहेको दाबी गरे।
‘व्यक्तिगत भ्रमण हो। पहिल्यैदेखि जाने भाकल पनि थियो। म कारागारमा हुँदा नै गरेको भाकल पूरा गर्न जान लागेको हुँ,’ लामिछानेले भने, ‘राजनीतिक भेटघाट केही छैन। व्यक्तिगत भ्रमण भएकाले कसैले पनि यसबारे खिचडी नपकाउनुहोला।’
शुक्रबार बिहान काठमाडौंँबाट विमानमार्फत धनगढी पुगेका लामिछाने त्यहाँबाट सडकमार्ग हुँदै कञ्चनपुरतर्फ लागेका छन्। उनी पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारत प्रवेश गर्ने कार्यक्रम छ।
लामिछानेको यो भ्रमणलाई लिएर विभिन्न राजनीतिक अड्कलबाजी हुन सक्ने सम्भावनाबीच उनले भने यसलाई निजी धार्मिक यात्राका रूपमा व्याख्या गरेका छन्।
